५ महिनामा भित्रियो ६ खर्ब बढी रेमिटेन्स,विदेशी मुद्रा सञ्चिति २२ खर्ब ७३ अर्ब
Last updated at 11:47 am
चालू आर्थिक वर्ष २०८१/८२ को पाँच महिना अर्थात् साउनदेखि मंसिर सम्ममा ६ खर्ब ४० अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको छ।
नेपाल राष्ट्र बैंकका अनुसार, गत आर्थिक वर्ष २०८०/८१ को पाँच महिनामा ६ खर्ब १३ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको थियो। त्यसैगरी, यो पाँच महिनामा ३ अर्ब १८ करोड रूपैयाँ रेमिटेन्सको रूपमा बाहिरिएको छ।
पाँच महिनामा वैदेशिक रोजगारीमा जानेको संख्यामा गत आर्थिक वर्षको यही अवधिको तुलनामा १८ प्रतिशतले बढेको छ।
त्यसो त पछिल्लो २४ महिनादेखि निरन्तर रूपमा मासिक एक खर्ब रूपैयाँभन्दा बढी रेमिटेन्स भित्रिरहेको छ। मंसिर एक महिनामा मात्रै १ खर्ब १८ अर्ब रूपैयाँ रेमिटेन्स भित्रिएको हो।
गत आर्थिक वर्षमा भने २ लाख ७४ हजार जनाले नयाँ र पुनः श्रम स्वीकृति लिएकोमा यस वर्ष लिनेको संख्या ३ लाख २५ हजार बढी छन्।
त्यस्तै, आयातमा सामान्य सुधार भइरहेको अवस्था छ भने विदेशी मुद्राको सञ्चिति पनि बढिरहेको छ । विदेशी मुद्राको सञ्चिति २२ खर्ब ७३ अर्ब रूपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च हो।
डलरको आधारमा पनि हालको सञ्चिति ऐतिहासिक उच्च हो। हाल यस्तो सञ्चिति १६ अर्ब ७५ करोड डलर छ।मुलुकमा रहेको विदेशी मुद्राको यस्तो सञ्चितिले १८ महिना १८ दिनको वस्तु तथा सेवाको आयात धान्न सक्छ।