निजीक्षेत्रमा ८० अर्ब रुपैयाँको क्षति : उद्योग वाणिज्य महासंघ
Last updated at 12:21 pm
निजी क्षेत्रको अगुवा संस्था नेपाल उद्योग वाणिज्य महासंघदृ हालै भएको जेनजी आन्दोलनका क्रममा निजीक्षेत्रमा ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीसँग भएको छलफलमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हालसम्म उपलब्ध तथ्यांक र सूचनाअनुसार उक्त रकम बराबरको क्षति भएको आँकलन गरिएको जानकारी दिए ।
महासंघले देशैभरको क्षति विवरण संकलन गरिरहेको छ । ठूलो क्षति भएका उद्योग र साना एवं राजधानीबाहिरका केही व्यवसायको विवरण आउन नसकेको र कतिपय दोहोरोपन पनि देखिएको अध्यक्ष ढकालले बताए ।
गत भदौ २३ गते शुरू भएको उक्त आन्दोलनको पहिलो दिन गोली लागेर १९ जनाको मृत्यु भएको थियो । त्यसको भोलिपल्ट प्रदर्शन आक्रामक हुँदा सरकारी संरचनासँगै निजी निवास र व्यावसायिक भवनमा लुटपाट, तोडफोड र आगजनी भएको थियो ।