३० प्रतिशतले बढ्यो रेमिट्यान्स, साउनमा भित्रियो १ खर्ब ७७ अर्ब
Last updated at 12:28 pm
मुलुकमा गत साउनमा मात्र रेमिट्यान्समार्फत १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिको तुलनामा यो २९ दशमललव ९ प्रतिशतले बढेको हो । गत वर्षको साउनमा रेमिट्यान्स आप्रवाह १७ दशमलव ७ प्रतिशतले बढेर १ खर्ब ३६ अर्ब ६० करोड भित्रिएको थियो ।
गत साउनमा अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २५ प्रतिशतले वृद्धि भई १ अर्ब २७ करोड पुगेको छ । गत वर्ष यस्तो आप्रवाह १५ दशमलव ८ प्रतिशतले बढेको थियो ।
सो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४४ हजार ४६६ र पुनः श्रम स्वीकृति लिनेको संख्या २३ हजार ६४४ छ ।
गत वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३६ हजार ९२८ र २२ हजार ६४७ थियो ।
यसैगरी, गत साउनमा चालू खाता ७८ अर्ब १४ करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा चालू खाता ३३ अर्ब ८ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २५ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा ५६ करोडले बचतमा रहेको राष्ट बैंकले जनाएको छ ।
चालू आर्थिक वर्षको पहिलो महिनामा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोडले बचतमा छ । गत वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोडले बचतमा रहेको थियो ।
यस्तै, गत साउनसम्म विदेशी विदेशी मुद्रा सञ्चिति २८ खर्ब ६ अर्ब ४ करोड पुगेको छ । विसं २०८२ असार मसान्तमा यस्तो सञ्चिति २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर थियो ।
आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसाग रहेको विदेशी विनिमय सञ्चिति २० दशमलव ४ महिनाको वस्तु आयात र १६ दशमलव ६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट बैंकको दाबी छ ।
यस वर्ष राष्ट बैंकले ७ महिनाको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति कायम गर्ने लक्ष्य तय गरेको छ । यसैगरी, गत साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धिदर १ दशमलव ६८ प्रतिशत छ । गत वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४ दशमलव शून्य ९ प्रतिशत थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २ दशमलव २८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३ दशमलव ९५ प्रतिशत छ ।
गत वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ६ दशमलव १७ प्रतिशत र २ दशमलव ९४ प्रतिशत थियो ।