विश्व बैंकद्वारा आर्थिक संकटको चेतावनी, अर्थतन्त्रको वृद्धिदरमा पनि कटौती
Last updated at 01:04 pm
बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले विश्व अर्थतन्त्रको वृद्धिदरसम्बन्धी पूर्वानुमानमा कटौती गरेको छ।
विश्व बैंकले व्यापारमा बढ्दो तनाव र नीति सम्बन्धी अनिश्चितताका कारण वृद्धिदरसम्बन्धी पूर्वानुमानमा कटौती गरेको हो ।
मंगलबार सार्वजनिक प्रतिवेदनमा हाल देखिएको अस्थिर अवस्थाले विश्वका करिब ७० प्रतिशत अर्थतन्त्रहरूमा वृद्धिदर घटाउने प्रभाव पारेको छ, जसमा सबै भू–भाग र आम्दानी वर्ग समावेश छन्।
प्रतिवेदनअनुसार, सन् २०२५ का लागि विश्व आर्थिक वृद्धिदर २ दशमलव ७ प्रतिशतबाट घटाएर २ दशमलव ३ प्रतिशत बनाइएको छ। यस्तै, सन् २०२६ का लागि यो दर २ दशमलव ७ प्रतिशतबाट घटाएर २ दशमलव ४ प्रतिशतमा ल्याइएको छ।विकसित देशहरूमा आगामी वर्ष १ दशमलव २ प्रतिशतको वृद्धि हुने अपेक्षा गरिएको छ, जुन अघिल्लो अनुमानभन्दा केही कम हो।
विकासशील तथा उदाउँदा बजार अर्थतन्त्रहरूमा सन् २०२५ को वृद्धिदर ३ दशमलव ८ प्रतिशत रहने अनुमान छ, जुन पूर्वानुमानभन्दा शून्य दशमलव ३ प्रतिशत अंकले कम हो।
संयुक्त राज्य अमेरिकाको वृद्धिदर २०२५ मा १ दशमलव ४ प्रतिशत मात्र रहने सम्भावना छ, जुन अघिल्लो पूर्वानुमानभन्दा कम हो र सन् २०२४ को २ दशमलव ८ प्रतिशत वृद्धिको तुलनामा आधा मात्र हो।
यसैगरी, यूरोप क्षेत्र र जापान दुवैको वृद्धिदर शून्य दशमलव ७ प्रतिशत रहने अनुमान छ, जसले अघिल्लो अनुमानमा केही कमी आएको देखाउँछ।चीनको वृद्धिदर भने अघिल्ला पूर्वानुमानअनुसार यथावत छ।
उक्त प्रतिवेदन अनुसार, केही महिना अघि सहज सुधारको आशा गरिएको विश्व अर्थतन्त्र फेरि चुनौतीपूर्ण परिस्थितिमा प्रवेश गरिरहेको छ।
यदि शीघ्र उपयुक्त नीतिगत कदमहरू नचालिएमा जनजीवनमा दीर्घकालीन असर पर्न सक्छ।भविष्यको आर्थिक स्थायित्व मुख्यतया वैश्विक व्यापार नीतिको दिशामा निर्भर रहने छ।
प्रतिवेदनले २०२६ र २०२७ मा केही सुधारको संकेत गरे पनि, समग्रमा आर्थिक उत्पादन स्तर अघिल्लो अनुमानभन्दा अझै तल रहने सम्भावना औंल्याएको छ।
यद्यपि, यदि व्यापार प्रतिबन्धहरू तीव्र रूपमा बढ्ने वा नीति सम्बन्धी अन्योलता निरन्तर रहने हो भने, आर्थिक वृद्धिमा थप गिरावट आउन सक्ने र वित्तीय दबाब पनि बढ्न सक्ने सम्भावना रहेको प्रतिवेदनमा उल्लेख छ।एजेन्सीहरु