चालू आर्थिक वर्षको ८ महिनामा साढे १० खर्ब माथि रेमिट्यान्स
Last updated at 06:59 am
चालू आर्थिक वर्ष २०८१/८२ को ८ महिना अर्थात साउन महिनादेखि फागुन महिनाको अवधिसम्ममा मुलुकमा साढे १० खर्बमाथि रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार फागुन मसान्तसम्म १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो गत आव २०८०/८१ को तुलनामा ९ दशमलव ४ प्रतिशत बढी हो ।
रेमिट्यान्स बढी भित्रिए पनि वृद्धिदरमा भने यस वर्ष कमी आएको छ । गत आव यसै महिना १८ दशमलव ३ प्रतिशतले विप्रेषण आप्रवाह बढेको थियो । अमेरिकी डलरमा रेमिट्यान्स ६ दशमलव ९ प्रतिशतले बढेको छ । डलरमा ७ अर्ब ७४ करोड रेमिट्यान्स आएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६ दशमलव १ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।
यो अवधिमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या भने बढेको छ । राष्ट्र बैंकका अनुसार ८ महिनामा अन्तिम श्रम स्वीकृति लिनेको संख्या ३ लाख १७ हजार ६८ छ । गत वर्ष यो संख्या २ लाख ८५ हजार ३५२ थियो । पुनः श्रम स्वीकृति लिनेको संख्या यस वर्ष २ लाख १७ हजार ४०३ छ । गत वर्ष यो संख्या १ लाख ८२ हजार ७८३ थियो । राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्म खुद द्वितीय आय ११ अर्ब ४८ अर्ब १२ करोड छ । अघिल्लो वर्ष यस अवधिमा यो आय १० खर्ब ४१ अर्ब थियो ।
फागुनसम्म मुलुक ३ खर्ब १० अर्ब बचतमा
उक्त अवधिसम्ममा मुलुक ३ खर्ब १० अर्ब रुपैयाँ बचतमा छ ।
मुलुकको शोधनान्तर (भुक्तानी) स्थिति ३ खर्ब १० अर्ब बचतमा देखिन्छ । भुक्तानी बचतमा हुनु भनेको मुलुकबाट बाहिरिनेभन्दा भित्रिने रकम बढी हुनु हो ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ३२७ अर्ब ५५ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २ अर्ब ४६ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २९ करोडले बचतमा छ ।
फागुन मसान्तसम्म चालू खाता १ खर्ब ८० अर्ब ८ करोड बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब ६७ अर्ब ४५ करोडले बचतमा थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब २६ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा १ अर्ब ३३ करोडले बचतमा छ ।
विदेशी मुद्रा सञ्चिति २४ खर्ब नाघ्यो
सो अवधिसम्ममा मुलुकमा विदेशी मुद्रा सञ्चिति २४ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । आठ महिनाको वित्तीय विवरणअनुसार असार मसान्तको तुलनामा यस्तो सञ्चिति १८ प्रतिशतले बढेको हो । अमेरिकी डलरमा भने १३ दशमलव १ प्रतिशत बढेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १७ अर्ब २७ करोड पुगेको छ ।
आर्थिक वर्ष २०८१/८२ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७ दशमलव २ महिनाको वस्तु आयात र १४ दशमलव ३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।