चालू आर्थिक वर्षमा साढे ४% को आर्थिक वृद्धि : एडीबी
Last updated at 12:27 pm
एशियाली विकास बैंक (एडीबी) ले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि सामान्य रुपमा वृद्धि भएर ४ दशमलव ४ प्रतिशत पुग्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ३ दशमलव ९ प्रतिशत थियो ।
आगामी आर्थिक वर्ष भने ५ दशमलव १ प्रतिशतको आर्थिक वृद्धि हुने पनि उसको प्रक्षेपण छ ।एडीबी नेपाल आवासीय मिसनका प्रमुख अर्थशास्त्री इआन हान्सनले अमरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाले एशिया व्यासिफिक क्षेत्रको आर्थिक वृद्धिको प्रक्षेपण घटेर ४ दशमलव ९ प्रतिशतमा झर्ने बताए ।
अमेरिकाको आर्थिक वृद्धि गत वर्षको २ दशमलव ८ प्रतिशतबाट यो वर्ष २ प्रतिशतमा र आगामी वर्ष १ दशमलव ९ प्रतिशतमा झर्ने सम्भावना रहेको एडीबीको भनाइ छ ।
अमेरिकी नीतिले चीनको आर्थिक वृद्धिमा सबैभन्दा ठूलो प्रभाव पर्ने सम्भावना पनि एडीबीले देखाएको छ । चीन अमेरिकासँग सबैभन्दा गम्भीर व्यापार युद्धमा सामेल हुने देखिएकाले यस्तो प्रक्षेपण गरिएको छ ।यति हुँदाहुँदै पनि दक्षिण एशियाको भने गत वर्षको ५ दशमलव ८ प्रतिशतबाट ६ प्रतिशत पुग्ने प्रक्षेपण छ ।
चालू आवमा उत्पादनमूलक क्षेत्रको वृद्धि भने बढ्ने प्रक्षेपण एडीबीको छ । ‘चालू आवको पहिलो ६ महिनामा निर्माण क्षेत्रमा ७ दशमलव ७ प्रतिशत कर्जा विस्तार भएको छ । उत्पादनमूलक उद्योगमा कर्जा जाने सम्भावना पनि उच्च छ’, एडीबीका नेपाल आवासीय मिसनका अर्थशास्त्री मानवरसिंह खड्काले भने । यो क्षेत्रको वृद्धिलाई ऊर्जा क्षेत्रले धेरै नै योगदान गर्ने उनले बताए ।
चालू आवमा मूल्यवृद्धि ५ दशमलव २ प्रतिशतमा सीमित हुने प्रक्षेपण एडीबीको छ । आगामी वर्षमा यो ५ प्रतिशतमा सीमित हुने प्रक्षेपण छ ।