मुलुकका उद्योगहरुको औसत क्षमता उपयोग घट्यो : राष्ट्र बैंक
Last updated at 05:59 pm
नेपाल राष्ट्र बैंकले मुलुकका विभिन्न भागमा रहेका उद्योगको औसत क्षमता उपयोग घटेको बताएको छ ।
जसअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा मुलुकका उद्योगको औसत क्षमता उपयोग १ दशमलव ५ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा मुलुकभरका उद्योगको औसत क्षमता उपयोग घटेको उल्लेख छ।
आर्थिक वर्ष २०८०/८१ मा उद्योगहरूको औसत क्षमता उपयोग ४८ दशमलव ३ प्रतिशत रहेकोमा आव २०७९/८० मा औसत क्षमता उपयोग ४९ दशमलव ८ प्रतिशत छ ।
उद्योगमध्ये पस्मिना उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९७ दशमलव ९ प्रतिशत छ । आर्थिक वर्ष २०७९/८० मा पस्मिना उद्योगको क्षमता उपयोग ४८ दशमलव ४६ प्रतिशत मात्र थियो । आर्थिक वर्ष २०८०/८१ मा वनस्पति घिउ उद्योगको क्षमता उपयोग सबैभन्दा कम अर्थात् शून्य दशमलव ९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७९/८० मा भने २ दशमलव ५९ प्रतिशत थियो ।
राष्ट्र बैंकको अध्ययनले समेटेका उद्योगमध्ये प्रशोधित दूध, चामल, गहुँको पिठो, चिनी, प्रशोधित चिया, मदिरा, हल्का पेय पदार्थ, धागो, पस्मिना, लिक्विड, जीआई तार, सिमेन्ट, घरेलु धातुका सामान, आल्मुनियम उत्पादन, बिजुलीका तार, टायर तथा ट्युब, टान्सफर्मर र चप्पल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग बढेको छ ।
वनस्पति घ्यू, तोरीको तेल, भटमासको तेल, पशुदाना, बिस्कुट, चकलेट, चाउचाउ, बियर, चुरोट, सिन्थेटिक कपडा, गार्मेन्ट, कच्चा छाला, चिरेको काठ, प्लाइउड, कागज, रोजिन, रङ, ट्याब्लेट औषधि, क्याप्सुल, ओइन्टमेन्ट, ड्राई सिरफ, साबुन लगायत उत्पादन गर्ने उद्योगको क्षमता उपयोग घटेको छ ।