आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलतामा जोड दिनुपर्छ : अध्यक्ष ढकाल
Last updated at 09:56 am
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आत्मनिर्भर अर्थतन्त्रका लागि उद्यमशीलताको विकास गर्नुपर्ने बताएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सौन्दर्यविद् कमला श्रेष्ठको सौन्दर्य–क्रान्ति आत्मकथाको मंगलबारविमोचन गर्दै अध्यक्ष ढकालले उक्त कुरा बताएका हुन् । उनले समानता र सामाजिक न्यायसहितको समाज निर्माणका लागि महिला श्रमको निःशर्त सम्मान हुने वातावरण आवश्यक रहेको समेत बताए ।
उनले उद्यमशीलताले मानिसमा आत्मसम्मान र आत्मनिर्भता बढाउनुका साथै देश विकासमा लागि पनि योगदान दिने उल्लेख गर्दैै व्यवसायी श्रेष्ठले उद्यमशीलता विकासका लागि अनुकरणीय काम गरेको बताए ।
‘हाम्रो समाज शृंगार र सौन्दर्यका कुरा उठाउँदा अपहेलित हुने तथा सौन्दर्य हुनेखानेहरुको लागि हो भन्ने दृष्टिकोण राख्ने समाज हो । सौन्दयकलालाई पेशा व्यवसाय मात्र नभई, स्वास्थ्यको अभिन्न अंगमा रुपमा विकास गर्दै शैक्षिक पाठ्यक्रममा समेत समावेश गर्न कमला श्रेष्ठका ठूलो योगदान रहेको छ’, उनले भने ।
अठोट सहितको निरन्तरताले सफलता दिन्छ भन्ने एउटा उदाहरणका रुपमा व्यवसायी कमला श्रेष्ठलाई लिन सकिने बताउँदै अध्यक्ष ढकालले आफ्नो व्यवसायको माध्यमबाट हजारौंलाई सीप हस्तान्तरण गर्दै रोजगारी सिर्जना गर्नु आफैमा चुनौतीपूर्ण र महत्वपूर्ण कार्य भएको बताए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाले महिला उद्द्मशीलता तथा महिला शसक्तिकरणका लागि श्रेष्ठको ठूलो योगदान रहेको बताइन् ।
महासंघ उपाध्यक्षद्वय हेमराज ढकाल ,ज्योस्ना श्रेष्ठ र महासंघका पूर्व उपाध्यक्ष भास्कर राज राजकर्णिकारले यो पुस्तक नयाँ केही गर्नेहरुका लागि प्रेरणाको स्रोत भएको बताए ।