ग्रामीण विकास र समाज लघुवित्त एक आपसमा गाभिए, कात्तिक २ गतेदेखि एकीकृत कारोबार
Last updated at 10:59 am
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था र समाज लघुवित्त वित्तीय संस्थाको एकीकृत कारोबार आगामी कात्तिक २ गतेदेखि शुरु हुने भएको छ ।
ती दुवै कम्पनीलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले गत असोज २३ गते अन्तिम स्वीकृती प्रदान गरेको हो ।यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले पनि समाज लघुवित्तको मर्जर हुने अघिल्लो दिनसम्मको सम्पूर्ण सम्पत्ति र दायित्व ग्रामिण विकास लघुवित्तमा मिलान गर्नका लागि गत असोज २६ गते नै स्वीकृती दिइसकेको छ ।
दुवै कम्पनी गाभिएर ‘ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड’ को नामबाट एकीकृत कारोबार शुरु हुनेछ ।
मर्जरपश्चात कायम हुने कम्पनीको रजिष्टर्ड अर्थात् प्रधान कार्यालय रुपन्देहीको बुटवल उप–महानगरपालिका–१० रुपन्देहीमा रहने छ । दुवै कम्पनीको तथ्यांकलाई एउटै सफ्वेयरमा मिलान गर्नुपर्ने भएकाले कात्तिक १ गते सम्पूर्ण बैंकिङ कारोबार बन्द रहने सूचनामा उल्लेख छ ।
दुवै कम्पनी एक बराबर एक अनुपातमा एकापसमा गाभिएका हुन् ।ती दुवै कम्पनी बीच विसं २०८१ फागुन १७ गते मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो। दुवै कम्पनीले ग्रामीण क्षेत्रका ग्राहकलाई वित्तीय सेवा पुर्याउँदै आएका छन् । मर्जरपछि कम्पनीको वित्तीय क्षमता बढ्ने र शाखा सञ्जाल विस्तार हुने अपेक्षा गरिएको छ ।
हाल धितोपत्र बजारमा यी दुई कम्पनीको शेयरमूल्यमा ठूलो अन्तर देखिन्छ । हाल समाज लघुवित्तको प्रति शेयरमूल्य २ हजार ३२५ रुपैयाँ हाराहारी छ भने ग्रामीण विकास लघुवित्तको मूल्य साढे ७१५ रुपैयाँ मात्र छ ।