स्वस्तिक लघुवित्तको आईपीओ खुला
Last updated at 10:34 am
स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आज अर्थात् साउन ३० गतेदेखि आईपीओ निष्कासन खुला गरेको छ ।
कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन खुला गरेको हो ।
कम्पनीले जारी पूँजीको ४० प्रतिशतले हुन आउने २ करोड ३१ लाख रुपैयाँ बराबरको २ लाख ३१ हजार कित्ता आईपीओ निष्कासन गर्ने अनुमति पाएको थियो।
सोमध्ये पहिलो चरणमा लघुवित्तले १ हजार १५५ कित्ता शेयर कर्मचारीहरुका लागि, ११ हजार ५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि २३ हजार १०० कित्ता शेयर विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि निष्कासन गरेको थियो।
अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ९५ लाख १९ हजार ५०० रुपैयाँबराबरको १ लाख ९५ हजार १९५ कित्ता शेयर निष्कासन गरेको हो।
निष्कासन बन्द छिटोमा भदौ ३ गते हुनेछ भने ढिलोमा भदौ १३ गते हुनेछ। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।
इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग बी एटदरेट प्रदान गरेको छ। यसले कम्पनीले समयमा वित्तीय दायित्व पूण गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ।क्रम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग छ।