फर्स्ट माइक्रोफाइनान्सको नाफा घट्यो, यस्तो छ अन्य सूचक
Last updated at 09:56 am
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण बुधबार प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार सो अवधिमा कम्पनीको नाफा सामान्य घटेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १३ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको देखिन्छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा ६ दशमलव ३४ प्रतिशतले कम हो। अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले १४ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी घटेकाले कम्पनीको खुद नाफामा असर परेको देखिन्छ । समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३१ दशमलव ८१ प्रतिशतले घटेको छ भने खुद फि तथा कमिशन आम्दानी पनि ७२ दशमलव ४३ प्रतिशतले घटेको छ। त्यस्तै, कम्पनीकुल सञ्चालन आम्दानी पनि ३४ दशमलव ११ प्रतिशत र सञ्चालन मुनाफा ११ प्रतिशतले घटेको छ।
यसैगरी, कम्पनीको असार मसान्तसम्ममा प्रतिशेयर नेटवर्थ १३१ रुपैयाँ २५ पैसा छ भने मूल्य आम्दानी अनुपात ८१ दशमलव ५८ गुणा छ। त्यस्तै, सो अवधिसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा १० करोड ७८ लाख रुपैयाँ छ।
यसैगरी, कम्पनीको रिजर्भ कोषमा ४२ करोड २ लाख रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले ४ अर्ब ९० करोड ९६ लाख रुपैयाँ सापटीबाट ६ अर्ब ९ करोड ७ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ छ । साताको तेस्रो कारोबार दिन मंगलबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ९४५ रुपैयाँ छ ।