इन्फिनिटी लघुवित्तले कमायो ९ करोड ३७ लाख नाफा, यस्तो छ अन्य सूचक
Last updated at 09:12 am
इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आइतबार सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीले उक्त अवधिमा ९ करोड ३७ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले ४ करोड ५७ लाख रुपैयाँ मात्र नाफा कमाएको थियो ।
यस्तो नाफा गत आवको सोही अवधिको तुलनामा १०४ दशमलव ७१ प्रतिशतले बढी हो ।समीक्षा अवधिमा कम्पनीले ४० करोड ४९ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो आवको सोहि अवधिको तुलनामा ३९ दशमलव ६४ प्रतिशतले बढी हो ।
यसैगरी, उक्त अवधिसम्ममा कम्पनीको खुद सञ्चालन आम्दानी ४३ करोड ५६ लाख रुपैयाँ र सञ्चालन मुनाफा १३ करोड ४९ लाख रुपैयाँ छ । त्यस्तै उक्त अवधिसम्ममा कम्पनीको खुद शुल्क तथा कमशिन आम्दानीतर्फ ७ करोड २७ लाख रुपैयाँ छ ।
यसैगरी, समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङतर्फ ८ करोड ३२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको रिजर्भ कोषमा २० करोड १७ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको खराब कर्जा अनुपात ७ दशमलव ४३ प्रतिशत छ । त्यस्तै कम्पनीको वितरणयोग्य मुनाफा ८ करोड ३२ हजार रुपैयाँ छ ।
चालू आवको चौथो त्रैमाससम्ममा कम्पनीको प्रतिशेयर आम्दानी १८ दशमलव ८५ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १५६ दशमलव ६५ रुपैयाँ छ । यसैगरी, कम्पनीकोमूल्य आम्दानी अनुपात ४६ दशमलव १६ गुणा छ ।
कम्पनीको चुक्तापूँजी ४९ करोड ७४ लाख रुपैयाँ बराबर छ । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार १३० रुपैयाँ छ ।