मिथिला लघुवित्तको खुद नाफा ५ करोडभन्दा बढी, यस्ता छन् अन्य सूचक
Last updated at 01:50 pm
मिथिला लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार कम्पनीले ५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
यो नाफा गत आवको तुलनामा ७७ दशमलव १४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले ३ करोड रुपैयाँ बराबरको खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि वृद्धि भएको देखिन्छ । कम्पनीले तेस्रो त्रैमाससम्ममा १३ करोड ८३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा ४३ दशमलव ३६ प्रतिशतले बढी हो ।गत आवमा कम्पनीले ९ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिसम्ममा कम्पनीले ७ करोड ५९ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ । यसैगरी, कम्पनीको कुल सञ्चालन आम्दानी १७ करोड १७ लाख रुपैयाँ छ । कम्पनीले चैत मसान्तसम्ममा १ अर्ब १४ करोड निक्षेप संलकन गरेर २ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
समीक्षा अवधिमा कम्पनीको खराब कर्जा ४ दशमलव ६८ प्रतिशत छ ।यसैगरी, कम्पनीको रिजर्भ कोषमा १९ करोड ८२ रुपैयाँ छ । कम्पनीको प्रतिशेयर आम्दानी ३६ रुपैयाँ २२ पैसा र प्रतिशेयर नेटवर्थ १९६ दशमलव ९८ रुपैयाँ छ ।
हालसम्ममा कम्पनीको चुक्तापूँजी १९ करोड ६० लाख रुपैयाँ छ । साताको दोस्रो कारोबार दिन सोमबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता १ हजार ४२० रुपैयाँ छ ।