निफ्राको हरित ऊर्जा ऋणपत्र जेठ १८ गतेदेखि निष्कासनमा, कति पाइन्छ ब्याज ?
Last updated at 10:10 am
नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) ले आगामी जेठ १८ गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको हरित ऊर्जा ऋणपत्र निष्कासन गर्ने भएको छ ।
कम्पनीले १ हजार रुपैयाँ अंकित मूल्यका कुल ५० लाख कित्ता भएको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र ६ %, २०८८/८९’ नामक ऋणपत्र निष्कासन गर्न लागेको हो । कम्पनीले ऋणपत्र निष्कासनका लागि गत वैशाख ३० गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएको थियो ।
कम्पनीले कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत अर्थात् ३ अर्बको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने आह्वानपत्रमा उल्लेख छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात् १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।
सात वर्षे अवधिको उत्त, ऋणपत्रमा वार्षिक ६ प्रतिशत दरले ब्याज भुक्तानी गरिनेछ । यसको भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।
यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ। यो ऋणपत्रको निष्कासन बन्द छिटोमा जेठ २१ गते र ढिलोमा असार १ गते बैंकिङ समयपछि हुनेछ।
इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल छ ।
उक्त ऋणपत्रबाट संकलित पूँजीलाई पर्यावरण मैत्री परियोजना सञ्चालनका साथै दिगो विकास कार्यमा प्रयोग गरिने कम्पनीले बताएको छ ।