तेस्रो त्रैमासमा अधिकांश वित्त कम्पनीहरूको नाफा बढ्यो
Last updated at 02:27 pm
वित्त कम्पनीहरुले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । हाल नेपालमा ग वर्गका १५ वटा वित्त कम्पनीहरु सञ्चालनमा छन्।
सार्वजनिक वित्तीय विवरणअनुसार चालू आवको चैत मसान्तसम्म पाँच वटा वित्त कम्पनी नोक्सानीमा छन् भने बाँकी १० वटा वित्त कम्पनी भने नाफामा छन् । गत आवको सोही अवधिमा भने आठ ओटा फाइनान्स कम्पनी घाटामा थिए ।
समीक्षा अवधिमा धेरैजसो वित्त कम्पनीहरुको नाफा बढेको देखिन्छ । १५ वटा वित्त कम्पनीको खुद नाफा १७ करोड ५८ लाख रुपैयाँ छ । गत वर्षको तेस्रो त्रैमासमा ३७ करोड ऋणात्मक थियो ।
पहिले नोक्सानमा रहेका प्रोग्रेसिभ, पोखरा, गुहेश्वरी, सेन्ट्रल र गुडविल फाइनान्स अहिले नाफामा गएका छन् । पहिले नाफामा रहेका बेस्ट र गोर्खाज फाइनान्स अहिले घाटामा गएको देखिन्छ ।
साउनदेखि चैत मसान्तसम्म वित्त कम्पनीहरु मध्ये आईसीएफसीले सबैभन्दा धेरै १९ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको छ ।उक्त कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी पनि सबैभन्दा धेरै २१ रुपैयाँ ९८ पैसा छ ।
जानाकी फाइनान्स सबैभन्दा धेरै १७ करोड ४७ लाख रुपैयाँ घाटामा छ । सो कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी २०दशमलव ७७ रुपैयाँ ऋणात्मक छ । निष्क्रिय कर्जा पनि सो कम्पनीको धेरै बढेको छ ।
प्रोग्रेसिभ फाइनान्सको वित्तीय विवरण भने सबैभन्दा धेरै सुधारोन्मुख देखिन्छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ करोड ४९ लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनीले यो आर्थिक वर्षको सोही अवधिमा ९ करोड ४ लाख नाफा कमाएको छ ।
कम्पनीले निष्क्रिय कर्जा समेत सुधारेको छ । पहिले ९ दशमलव ३४ प्रतिशत रहेको निष्क्रिय कर्जा अहिले ७ दशमलव १५ मा झरेको छ ।
वित्त कम्पनीहरुको सबैभन्दा कमजोर पक्ष नै बढ्दो निष्क्रिय कर्जा हो । निष्क्रिय कर्जा ४४ प्रतिशतसम्म पुगेको छ । सात ओटा कम्पनीको निष्क्रिय कर्जा १० प्रतिशतभन्दा माथि छ भने दुई कम्पनीको ३० प्रतिशतभन्दा माथि छ ।नोक्सानमा रहेसँगै पाँच ओटा वित्त कम्पनीहरुको प्रतिशेयर आम्दानी ऋणात्मक भएको छ ।
समृद्धि, गोर्खाज, बेस्ट, जानकी र रिलायन्स फाइनान्सको प्रतिशेयर आम्दानी ऋणात्मक छ। आईसीएफसी फाइनान्सको प्रतिशेयर आम्दानी सबैभन्दा धेरै २१ रुपैयाँ ९८ पैसा छ ।