पोखरा फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंक बीच मर्जरका लागि छलफल शुरु
Last updated at 04:10 pm
पोखरा फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंक बीच एकापसमा मर्जरका लागि आन्तरिक छलफल शुरु भएको छ ।
समस्याउन्मूख अवस्थामा रहेको पोखरा फाइनान्सले गण्डकी प्रदेशको पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रिन डेभलपमेन्ट बैंकसँग मर्जरमा जाने गरि छलफल गरिरहेको स्रोतले बताएको छ। उक्त बैंक क्षेत्रीय स्तरको विकास बैंक हो । निष्कृय कर्जा ४० प्रतिशतभन्दा माथि पुगेको र पूँजीकोष अनुपात ऋणात्मक भएपछि समस्याउन्मूख देखिएको उक्त वित्त कम्पनीले मर्जरको लागि ग्रिन डेभलपमेन्ट बैंकसँग छलफल अगाडि बढाएको हो ।
पोखरामा नै केन्द्रीय कार्यलय रहेको पोखरा फाइनान्स समस्याउन्मुख देखिएपछि नेपाल राष्ट्र बैंकले व्यवस्थापन लिनभन्दा पनि मर्जरमार्फत समस्या समाधान गर्नुपर्ने भन्दै मर्जरको लागि दबाब दिएको छ । केन्द्रीय बैंकबार्ट मर्जरको लागि दबाब आएपछि कम्पनीले यसअघि नै मर्जर कमिटि गठन गरेर छलफल अगाडि बढाएको हो ।
जसका लागि पोखरा फाइनान्स र ग्रिन डेभलपमेन्ट बैंकका सञ्चालकहरुबीच पटक पटक छलफल समेत भइसकेको छ । छलफल सकारात्मक रहेको बताइएको छ तर केहि समय अघि भने पोखरा फाइनान्सले एक अग्रणी वाणिज्य बैंकसँग मर्जमा जाने विषयमा छलफल शुरु गरिसकेको बताएको थियो ।
यसचैबीच ग्रिन डेभलपमेन्ट बैंकबाट मर्जरको छलफलमा सहजिकरण गरेका प्रकाश गुरुङलाई उक्त कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ । पोखरा फाइनान्समा पहिले सञ्चालक भइसकेका गुरुङलाई प्रमुख कार्यकारी अधिकृत बनाएको हो ।
उनी हाल ग्रिन डेभलपमेन्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतमा कार्यरत छन् । उनले आगामी चैत १ गतेदेखि कम्पनीको सीईओको जिम्मेवारी सम्हाल्नेछन् । उनी अनुभवि बैंकर हुन् । पोखरा फाइनान्स वित्तीय रुपमा समस्याउन्मूख अवस्थामा छ ।
चालू आर्थिक वर्ष २०८१/ ०८२ को दोस्रो त्रैमाससम्म उक्त कम्पनी १ अर्ब ५५ करोड २१ लाख रुपैयाँ सञ्चित नोक्सानीमा छ । कम्पनीको जगेडाकोषमा १ अर्ब ५ करोड ३७ लाख छ । चालू आवको दोस्रो त्रैमासमा मात्रै कम्पनीले ५८ करोड ९० लाखले नोक्सानीमा रहेको वित्तीय विवरण प्रकाशित गरेको छ । पूँजीकोष ३ दशमलव ०८ प्रतिशतले ऋणात्मक रहेको छ भने निष्कृय कर्जा ३३ दशमलव ४४ प्रतिशत र खुद निष्कृय कर्जा १० दशमलव ५९ प्रतिशत पुगेको छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ८ करोड २६ लाख रुपैयाँ छ । यसैगरी, यता ग्रिन डेभलपमेन्ट बैंकको चुक्तापूँजी ५३ करोड ८७ लाख छ । सञ्चित नाफा ४ करोड ४८ लाख रहेको यो बैंकले चालू आवको दोस्रो त्रैमाससम्म १ करोड ९७ लाख मुनाफा आर्जन गरेको छ । यसैगरी,कम्पनीको पूँजीकोष अनुपात १५ दशमलव ९६ प्रतिशत छ ।