७ महिनामा वाणिज्य बैंकले कमाए ३६ अर्बभन्दा बढी खुद नाफा
Last updated at 06:53 am
चालू आर्थिक वर्ष २०८१/०८२ को सात महिनाको अवधिमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरुले ३६ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा कमाएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार हाल सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकहरुले चालू आवको साउन महिनादेखि माघसम्मको अवधिमा कुल ३६ अर्ब ६ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएका हुन् ।
जसमा शिर्ष स्थानमा नबिल बैंक छ । उक्त कम्पनीले सबैभन्दा धेरै अर्थात् ४ अर्ब १ करोड खुद नाफा कमाएको छ। यसैगरी, सोही अवधिसम्ममा ग्लोबल आइएमई बैंकले ३ अर्ब ८९ करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ अर्ब ४३ करोड तथा एभरेष्ट बैंकले २ अर्ब ५७ करोड खुद नाफा कमाएको छ।
त्यसैगरी, एनआईसी एशिया बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् ४६ करोड ४७ लाख कमाएको छ। त्यस्तै, कुमारी बैंकले ७३ करोड ४६ लाख खुद नाफा कमाउँदा कृषि विकास बैंकले ७९ करोड ९९ लाख खुद नाफा कमाएको छ।
अन्य बैंकहरूमध्ये एभरेष्ट बैंकको नाफा २ अर्ब ५७ करोड, नेपाल बैंकको २ अर्ब ४५ करोड, एनएमबि बैंकको २ अर्ब ३४ करोड र प्राइम बैंकको २ अर्ब १८ करोड छ। स्ट्यान्डर्ड चार्टर्ड, प्रभु बैंक, लक्ष्मी सनराइज बैंक, हिमालयन बैंक र सानिमा बैंकले क्रमशः १ अर्ब ८३ करोड, १ अर्ब ८३ करोड, १ अर्ब ५८ करोड, १ अर्ब ४७ करोड र १ अर्ब ३७ करोड रुपैयाँ नाफा आर्जन गरेका छन्।
राष्ट्रिय वाणिज्य बैंक, नेपाल एसबीआई, माछापुच्छ्रे, सिटिजन्स, सिद्धार्थ, कृषि विकास, कुमारी, र एनआईसी एसियाको नाफामा गिरावट देखिएको छ।
समीक्षा अवधिसम्ममा कतिपय बैंकहरूको नाफा उल्लेख्य रूपमा बढे पनि अधिकांश बैंकहरूले वित्तीय अवस्था कमजोर देखिन्छ ।
