साउनमा पनि घटाए बैंकहरूले थप ब्याजदर
Last updated at 04:42 pm
अधिकांश बैंकहरूले साउन महिनामा पनि ब्याजदर थप घटाएका छन्।
साउनमा १४ वटा बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने चार वटा बैंकले स्थिर राखेका छन् । यसैगरी दुई वटा बैंकले भने ब्याजदरबढाएका छन्।त्यसो त जेठ र असार महिामा पनि बैंकहरुको ब्याजदर स्थिरजस्तै थियो ।
नेपाल राष्ट्र बैंकले साउन महिनाका लागि नीतिगत दर ५ प्रतिशतबाट ४ दशमलव ५ प्रतिशतमा झारेपछि बैंकहरुको ब्याजदर थप तल झरेको हो । नेपाल राष्ट्र बैंकको दबाबपछि अधिकांश बैंकहरूले साउन महिनाका लागि घटाएर निक्षेप ब्याजदर सार्वजनिक गरेको देखिन्छ ।
बैंकहरूले बुधबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार असारको तुलनामा साउनमा व्यक्तिगत मुद्दतीको अधिकतम औसत ब्याजदर शून्य दशमलव २१५ प्रतिशत विन्दुले घटेको छ ।
असार महिनाका लागि व्यक्तिगत अधिकतम मुद्दतीको औसत ब्याजदर ५ दशमलव ९०२ प्रतिशत रहेकोमा साउन महिनाको लागि यो ५ दशमलव ६८७ मा कायम भएको छ ।
जसअनुसार हिमालयन बैंकले व्यक्तिगत मुद्दतीको अधिकतम ब्याजदर शून्य दशमलव ५ प्रतिशत विन्दुले बढाएको छ भने स्टान्डर्ड चार्टर्ड बैंकले जम्मा शून्य दशमलव शून्य १ प्रतिशत विन्दुले बढाएको छ ।
साउन महिनामा चार वटा बैंकहरुले असारकै ब्याजदरलाई निरन्तरता दिएका छन्। माछापुच्छ्रे बैंक, ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र एनएमबि बैंकले व्यक्तिगत र संस्थागत मुद्दति निक्षेपको अधिकतम ब्याजदरमा कुनै परिवर्तन गरेको छैनन्।
छोटो अवधिका लागि मुद्दती निक्षेपमा न्यून र लामो अवधिका लागि केही बढी ब्याजदर बैंकले दिँदै आएका छन् । व्यक्तिगत मुद्दतीमा बैंकहरुले तोकेको अधिकतम ब्याजदर लामो अवधिका लागि हो ।