नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्राडा विश्वनाथ पौडेल नियुक्त
Last updated at 08:04 am
नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्राडा विश्वनाथ पौडेल नियुक्त भएका छन् ।दुई प्रमुख राजनीति दलको रस्साकस्सीपछि नेपाल राष्ट्र बैंकले १८ औं गभर्नर पाएको छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर नियुक्त गरेको हो ।यसपछि गभर्नरको विषयलाई लिएर देखिएको सत्तासाझेदार नेपाली काँग्रेस र नेकपा(एमाले) बीचको सत्ता संकट र अन्यौल रोकिएको छ।
अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मंगलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो ।जसमा पौडेलसहित कामु गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस थियो ।
सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गरेको हो ।
को हुन् पौडेल ?
डा पौडेललाई नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रुपमा लिने गरिन्छ । यसअघि देउवा प्रधानमन्त्री हुँदा उनी २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए ।
उनका अर्थतन्त्रका विविध विषयमा लेख र जर्नल प्रकशित छन्। पौडेल नेपालको आर्थिक इतिहासका बारेमा पनि जानकार मानिन्छन्।
यसैगरी,उनले अमेरिकाको प्रतिष्ठित युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। त्यसअघि उनले अमेरिकामै अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गरेका थिए। उनले चीनको शाङ्हाईस्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययन समेत गरेका छन्। डा पौडेल चीन र अमेरिकाको अर्थतन्त्र, समाज र इतिहासका अध्येता हुन्।
उनले बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकको कन्सल्ट्यान्ट, अन्तरराष्ट्रिय श्रम संगठनको नेपालस्थित कार्यालयमा र मिलेनियम च्यालेन्ज कर्पोरेशनको नेपालस्थित कार्यालयमा पनि अर्थशास्त्रीको रूपमा कार्य गरिसकेका छन्।