जेठ महिनाका लागि वाणिज्य बैंकहरुको ब्याजदरमा सामान्य कटौती
Last updated at 07:18 pm
मुलुकमा सञ्चालनमा रहेका विभिन्न वाणिज्य बैंकहरुले जेठ महिनाका लागि नयाँ ब्याजदरको सूचना सार्वजनिक गरेका छन्। जसअनुसार ती बैंकहरुको जेठ महिनाको औषत ब्याजदर गत वैशाखमहिनाको तुलनामा सामान्य घटेको देखिएको छ।
औसतमा व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर जेठ महिनाका लागि ५ दशमलव ९४ प्रतिशत कायम भएको छ । गत वैशाख महिनामा औसत ब्याजदर ५ दशमलव ९८ प्रतिशत थियो । औसतमा वाणिज्य बैंकहरुको ब्याजदर शून्य दशमलव शून्य ४ विन्दुले घटेको छ।
२०वटा वाणिज्य बैंकहरुमध्ये १४ वटा बैंकहरुले वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने बाँकी छ वटा मध्ये तनि वटा बैंकहरुले ब्याजदर घटाएका छन् भने तीन वटाले बढाएका छन्।गत वैशाख महिनाको तुलनामा जेठमा बैंकहरुको ब्याजदर शून्य दशमलव शून्य २७५ प्रतिशत विन्दु घटेको छ।
जेठ महिनाका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सबैभन्दा बढी अर्थात् १ प्रतिशत विन्दु ब्याजदर घटाएको छ। गत वैशाख महिनामा ६ दशमलव ५ प्रतिशत रहेको उक्त बैंकको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर जेठ महिनाका लागि ५ दशमलव ५ प्रतिशत कायम भएको छ।
यसैगरी, सिद्धार्थ बैकले यस्तो निक्षेपको अधिकतम ब्याजदर शून्य दशमलव २५ प्रतिशत विन्दुले घटाएको छ भने कुमारी बैंकले शून्य दशमलव शून्य एक प्रतिशत विन्दुले घटाएको छ।
त्यस्तै सानिमा बैंक, नेपाल बैंक र एभरेष्ट बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर गत वैशाखको तुलनामा बढाएका छन्। जसमा सानिमा बैंकले सबैभन्दा बढी अर्थात शून्य दशमलव ३८ प्रतिशत विन्दु बढाएको छ।
कुमारी बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५ दशमलव ७१ र संस्थागततर्फ ४ दशमलव ९१ प्रतिशत ब्याजदर कायम गरेको छ।
वैशाख महिनाका लागि बैंकले व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ५ दशमलव ७२ र संस्थागततर्फ ४ दशमलव ९२ प्रतिशत ब्याजदर लागू गरेको थियो।
त्यसो त प्रभु बैंकले जेठ महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै तर्फको ब्याजदर स्थिर राखेको छ ।बैंकले जेठ महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ दशमलव १०० प्रतिशत ब्याजदर कायम गरेको छ ।
सुस्त आर्थिक गतिविधि र पर्याप्त तरलताका कारण पछिल्ला महिनाहरुमा बैंकहरुले लगातार ब्याजदर घटाइरहेका छन् । नीतिगत अवरोधका कारण कर्जा प्रवाह हुन सकेको छैन।