राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र आजदेखि निष्कासनमा
Last updated at 07:45 am
राष्ट्रिय वाणिज्य बैंकले आज अर्थात् आइतबारदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ ।
बैंकले कुल २५ लाख कित्ता ऋणपत्र निष्कासन गर्ने गरी नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट बैंकले स्वीकृति पाएको छ ।
कुल सात वर्षे अवधि भएको उक्त ऋणपत्रमा लगानी गर्नेले वार्षिक रुपमा सात प्रतिशत बराबर ब्याजदर प्राप्त गर्नेछन् । अङ्कित मूल्य १ हजार रुपैयाँ दरको ऋणपत्रमा लगानीकर्ताले कुल २५ कित्तादेखि बिक्री गर्न लागिएको सम्पूर्ण कित्तामा नै आवेदन दिन सक्नेछन् ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल छ । उक्त ऋणपत्र छिटोमा आगामी वैशाख १० गते र ढिलोमा वैशाख २१ गतेसम्म निष्कासनमा रहनेछ ।
२ अर्ब ५० करोड बराबरको कुल निष्कासनमध्ये ६० प्रतिशतले हुन आउने १ अर्ब ५० करोड मूल्य बराबरको १५ लाख कित्ता व्यक्तिगत प्रयोजनका लागि छुट्याइएको छ ।
त्यसैगरी, ४० प्रतिशतले हुने १ अर्ब बराबरको १० लाख कित्ता भने सर्वसाधारणका लागि निष्कासन हुनेछ । त्यसमा ५० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
कुल ९ लाख ५० हजार कित्तामा भने सर्वसाधारणले लगानी गर्न पाउने व्यवस्था गरिएको छ । सो बैंकलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ए प्लस’ रेटिङ प्रदान गरिएको छ । बैंकको अधिकृत पूँजी ३० अर्ब, जारी पूँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार र चुक्तापूँजी १५ अर्ब ६३ करोड ७३ लाख ७७ हजार बराबर छ ।