गभर्नर चयन गर्न अर्थमन्त्रीको संयोजकत्वमा समिति,आफूअनुकूल व्यक्तिका लागि लवीईङ
Last updated at 03:32 pm
नेपाल राष्ट्र बैंकको गभर्नर चयन गर्नका लागि सिफारिस समिति गठन गरिएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको हो । समितिको सदस्यमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थशास्त्री विश्व पौडेल छन् ।
नेपाल राष्ट्र बैंक ऐनमा पद रिक्त हुनु एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त गर्नुपर्छ । गभर्नर महाप्रसाद अधिकारीको पाँचवर्षे कार्यकाल आगामी चैत २४ गते सकिँदै छ । सरकारले गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिनै लाग्दा १८ औं नयाँ गभर्नर चयनका लागि सिफारिस समिति गठन गरेको हो ।गभर्नरको पदावधि सकिनै लाग्दा छनोट समितिसमेत गठन नगर्दा अर्थतन्त्रप्रति सरकार संवेदनशील नदेखिएको आरोप लाग्दै आएको थियो ।
राष्ट्र बैंक ऐनमा गभर्नरका लागि उच्च नैतिक चरित्र भएको, आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरी कार्यअनुभव भएको हुनुपर्नेछ ।
राष्ट्र बैंकको कार्यकारी प्रमुखका लागि स्वार्थप्रेरित चलखेल हुन सक्ने भन्दै आर्थिक क्षेत्रका विज्ञले सार्वजनिक रूपमा र सांसदहरूले संसद्मा आवाज उठाउन थालेका छन् । पूर्वअर्थमन्त्री, पूर्वगभर्नर र अर्थशास्त्रीले समेत ‘कसैको दबाब, प्रभाव र प्रलोभनमा नपरी’ स्वतन्त्र र निष्पक्ष रूपमा कार्यसम्पादन गर्न सक्ने क्षमतावान् व्यक्तिलाई गभर्नर बनाउनुपर्ने माग गर्दै आएका छन् ।
स्वार्थ समूहले भने आफूअनुकूल व्यक्तिका लागि लबीईङ गरिरहेका छन् । सरकारले गरेका पछिल्ला नियुक्तिमा स्वार्थ समूह हाबी भएको, आर्थिक लेनदेन भएको, राम्राभन्दा पनि विवादित मान्छे छानिएको आरोप लागिरहेका बेला गभर्नरमा पनि त्यस्तै हुने आशंका छ ।
को बन्ला त १८ औं गभर्नर ?
अधिकारीको कार्यकाल सकिएपछि नयाँ बन्ने गभर्नरका लागि केही महिनायता राजनीतिक वृत्तमा रस्साकस्सी शुरु भइसकेको छ । मन्त्रिपरिषद्ले नियुक्ति गर्ने गभर्नरका लागि एक दर्जन बढी आकांक्षीहरू राजनीतिक भेटघाट र लवीईङमा व्यस्त छन् ।
राष्ट्र बैंकको गभर्नर प्रशासन क्षेत्रमा आकर्षक पद मानिन्छ । सरकारको ढुकुटी रहने बैंकको रूपमा राष्ट्र बैंक रहने र नयाँ जारी हुने नोटमा पनि गभर्नरको नै हस्ताक्षर हुने भएकाले पनि यो पदमा सबैको चासो रहँदै आएको छ ।
यतिखेर नयाँ गभर्नरका लागि आकांक्षीहरू भने शक्ति केन्द्र धाउन थालिसकेका छन् ।