बैंक तथा वित्तीय संस्थामार्फत मात्रै कारोबार गरौं : गभर्नर
Last updated at 07:55 am
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाबाट मात्रै कारोबार गर्न आग्रह गरेका छन् ।
काठमाडौंमा सोमबार आयोजित ‘ग्लोवल मनी वीक’ लाई सम्बोधन गर्दै उनले राष्ट्र बैंकबाट अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाबाट वचत गर्ने बानीको विकास गर्नुपर्ने बताए । उनले नेपाल राष्ट्र बैंकले आफ्नो कोर म्याण्डेटको अलवा वित्तीय समावेशीतालाई एउटा महत्वपूर्ण एजेन्डाका रुपमा लिएको बताएका छन् ।
उनकाअनुसार राष्ट्र बैंकले सबै सर्वसाधारणको बैंकमा खाता होस् र ती खाताहरु सक्रिय रुपले चलुन् भन्ने मानसिकता राख्छ । उनले केही सिक्न, केही वित्तीय जानकारी लिँदा आम विद्यार्थीको व्यवहारमा समेत केही न केही परिवर्तन आउने बताए । वित्तीय हिसावले सचेत हुँदा आचारणमा समेत परिवर्तन ल्याउने समेत बताए ।
उनले भने–‘भोलिका दिनमा आफू व्यक्तिगत रुपमा पनि सुरक्षित हुन सकिन्छ । स्वच्छ समाज निर्माणमा सहयोग पुग्छ । त्यो त्यतिमा मात्रै सिमित छैन, समग्र राष्ट्रलाई समेत विद्यार्थीहरुले स्वच्छ बनाउन सघाउ पुर्याउँछ । त्यसैले विद्यार्थी उमेरमै वित्तीय रुपमा जानकार हुनुपर्छ भनेर राष्ट्रले त्यससम्बन्धि शिक्षाका लागि प्रयास गर्ने गरेको छ । यो शिलशिलामा स्कुलको पाठ्यक्रममा पनि वित्तीय सक्षरता, समावेशीता राख्न हामीले खोजेका छौं। ’
गभर्नर अधिकारीले घाँटी हेरेर हाड निल्नु भनेजस्तै आफ्नो क्षमता हेरेर खर्च गर्ने परिपाटीको विकास हुन जरुरी रहेको बताए । वित्तीय सक्षरताका बारेमा राष्ट्र बैंकले देशभर जागरण चलाइरहेको र यसलाई व्यापक बनाउँदै लैजाने उनको भनाइ छ ।