गभर्नर छान्न सिफारिस समिति गठन,को बन्ला त १८ औं गभर्नर ?
Last updated at 05:16 pm
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिनै लाग्दा सरकारले १८ औं नयाँ गभर्नर चयनका लागि सिफारिस समिति गठन गरेको छ ।
राष्ट्र बैंकका गभर्नर अधिकारीको पाँच वर्षे कार्यकाल आगामी चैत २५ गते पदावधि सकिँदै छ । जसका कारण बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिस समिति बनाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको छ ।
नेपाल राष्ट्र बैंक ऐनमा अर्थमन्त्रीको अध्यक्षतामा गभर्नर सिफारिस समिति गठन हुने व्यवस्था छ । समितिमा पूर्वगभर्नरमध्येबाट एक, आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिमध्येबाट सरकारले तोकेको एक जना व्यक्ति सदस्य रहनेछन् । तीन सदस्यीय समितिले तीन जनाको नाम सिफारिस गर्नेछ ।जसमा डेपुटी गभर्नरमध्ये १ जनाको नाम सिफारिस हुनैपर्ने व्यवस्था छ । गभर्नर बन्न हालका डेपुटी गभर्नरद्वय नीलम ढुंगाना, बमबहादुर मिश्रलगायत प्रतिस्पर्धामा छन् ।
दुई जना डेपुटी गभर्नरमध्ये कम्तीमा एक जनाको नाम मन्त्रिपरिषद्सम्म पुग्ने निश्चित छ । समितिले आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रका लब्धप्रतिष्ठित व्यक्ति तथा डेपुटी गभर्नरमध्येबाट तीन जनाको नामावली मन्त्रिपरिषद्मा सिफारिस गर्नुपर्ने कानूनी व्यवस्था छ ।
राष्ट्र बैंक ऐन, २०५८ को दफा २० मा गभर्नर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनुपर्ने, उच्च नैतिक चरित्र भएको हुनुपर्ने तथा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था छ ।
को बन्ला त १८ औं गभर्नर ?
अधिकारीको कार्यकाल सकिएपछि नयाँ बन्ने गभर्नरका लागि केही महिनायता राजनीतिक वृत्तमा रस्साकस्सी शुरु भइसकेको छ । मन्त्रिपरिषद्ले नियुक्ति गर्ने गभर्नरका लागि एक दर्जन बढी आकांक्षीहरू राजनीतिक भेटघाट र लवीईङमा व्यस्त छन् ।
राष्ट्र बैंकको गभर्नर प्रशासन क्षेत्रमा आकर्षक पद मानिन्छ । सरकारको ढुकुटी रहने बैंकको रूपमा राष्ट्र बैंक रहने र नयाँ जारी हुने नोटमा पनि गभर्नरको नै हस्ताक्षर हुने भएकाले पनि यो पदमा सबैको चासो रहँदै आएको छ ।
यतिखेर नयाँ गभर्नरका लागि आकांक्षीहरू भने शक्ति केन्द्र धाउन थालिसकेका छन् । खासगरी यसमा केन्द्रीय बैंककै दुई डेपुटी गभर्नरदेखि एक दर्जन बढी आकांक्षी छन् । राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय निलम ढुंगाना र बमबहादुर मिश्रदेखि कार्यकारी निर्देशक र पूर्व कार्यकारी निर्देशकहरु यस्ता छन् आकांक्षीहरू
नयाँ गभर्नरका लागि आकांक्षीहरूले केही महिनादेखि नै शक्ति केन्द्र धाउन थालिसकेका छन् । गभर्नर पदमा राष्ट्र बैंकका दुई डेपुटी गभर्नरदेखि एक दर्जन बढी आकांक्षी देखिएका छन् । राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय निलम ढुंगाना र बमबहादुर मिश्रदेखि कार्यकारी निर्देशक र पूर्व कार्यकारी निर्देशकहरु दौडमा छन् ।
त्यसो त पूर्व अर्थसचिव रामेश्वर खनाल पनि यसका लागि बलियो दावेदारको रूपमा छन् ।त्यस्तै सुशील भट्ट पनि छन् । भट्ट लगानी बोर्ड नेपालका पूर्व प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा व्यवस्थापन संघका पूर्वअध्यक्ष पनि हुन् ।