नेपाल धितोपत्र बोर्डद्वारा आईपीओ अनुमति दिन शुरु, एकैदिन दुई अलग कम्पनीले पाए अनुमति
Last updated at 08:41 am
नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्ति भएसँगै आईपीओ निष्कासन प्रक्रिया शुरु भएको छ । जसअनुसार बोर्डबाट बिहीबार मात्रै दुई कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् ।
आईपीओ निष्कासन गर्न अनुमति पाउनेमा ओम मेघाश्री फर्मास्यूटिकल्स र क्रेष्ट माइक्रोलाईफ इन्स्योरेन्स छन्। ती कम्पनीले क्रमशः १८ लाख कित्ता र २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न अनुमति पाएका हुन्। अब दुवै कम्पनीले ३० प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गर्नेछन् ।
बोर्डले क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल लिमिटेड छ ।
त्यस्तै, बोर्डले ओम मेघाश्री फर्मास्यूटिकल्सलाई पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ निष्कासनका लागि अनुमति दिएको छ । हाल उक्त कम्पनीको चुक्तापूँजी ४२ करोड रुपैयाँ छ । कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड छ ।
लामो समयदेखि बोर्डमा अध्यक्ष नहुँदा धितोपत्रको आईपीओलगायतका सम्पूर्ण निष्कासन प्रक्रिया नै अवरुद्ध थियो। बिहीबार दुई कम्पनीले अनुमति पाएसँगै लामो समय अवरुद्ध निष्कासन प्रक्रियाले निरन्तरता पाउने अपेक्षा छ।बिहीबार दुई अलग कम्पनीले निष्कासन अनुमति पाएसँगै चालू आर्थिक वर्षमा अनुमति पाउने कम्पनीको संख्या चार पुगेको छ ।
निष्कासन अनुमति पाउनेमा एक माइक्रो लाईफ इन्स्योरेन्स हो भने अर्को औषधि उत्पादन गर्ने कम्पनी हो। यसअघि गार्डियन माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्न अनुमति पाइएको छ ।