पुस २९ अर्थात् सोमबार ४० बढी सूचीकृत कम्पनीको साधारण सभा हुँदै
Last updated at 06:38 pm
धितोपत्र बजारमा सूचीकृत ४० भन्दा बढी विभिन्न क्षेत्रसँग सम्बद्ध कम्पनीहरुले आज अर्थात् आज पुस २९ गते वार्षिक साधारण सभा बोलाएका छन् ।
नियामकीय प्रावधान अनुसार सूचीकृत कम्पनीहरुले पुस मसान्तभित्र गत आर्थिक वर्षको वार्षिक साधारण सभा गरिसक्नुपर्छ । समयमा नै साधारण सभा नगर्ने अनि अन्तिम दिन कुरेर साधारण सभा गर्ने कम्पनीको संख्या वर्षेनी बढ्दै गएको छ । यो दिन नागरिक लगानी कोष, मुक्तिनाथ विकास बैंक,नेपाल फाइनान्स,कालिञ्चोक दर्शन लिमिटेड,आरएसडीसी लघुवित्त वित्तीय संस्थालगायत करिब ४० कम्पनीले साधारण सभा गर्दैछन्।
अघिल्लो दिन आइतबार पनि सूचीकृत भएका ३७ वटा कम्पनीले साधारण सभा आयोजना गरेका थिए ।हुन त एकजना धितोपत्र बजार विज्ञ ज्योति दाहालले सोमबारको दिनलाई साधारण सभा दिवस भनेर सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।उनले यो दिनलाई साधारण सभा दिवस भन्दै सम्पूर्ण शेयरधनीलाई शुभकामना पनि दिएका छन्।
उनका अनुसार यसरी एकैदिन सभा आह्वान हुनुमा शेयरधनी नै प्रमुख कारक हुन् । सभा कम्पनीको वार्षिक गतिविधि र आगामी वर्षको कार्यक्रमको छलफल गर्ने थलो अझै बन्न सकेन । यसो हुनुमा शेयरधनीको दोष छ ।
सभ्यतापूर्वक सभामा उपस्थित भएर छलफल गरे यसरी एकैदिन सभा हुने स्थितिको अन्त्य हुन्छ । सभालाई प्रस्ताव अस्विकार गर्ने अधिकार छ तर, संशोधन गर्ने अधिकार हुन्न ।
धेरैजसो कम्पनीले साधारण सभा गर्न पुसका अन्तिम दिनहरु नै कुर्नाले सर्वसाधारण शेयरधनी भने सहभागी हुन पाउँदैनन् । अझ भन्ने हो भने एकै जना लगानीकर्ता ८/१० वटा कम्पनीको शेयरधनी पनि छन् ।तसर्थ ती कम्पनीहरुले एकैदिन साधारण सभा बोलाएकाले कम्पनीको साधारण सभामा सहभागी हुन सम्भब हुँदैन ।
कतिपय लगानीकर्ता अन्तिम समयमा आएर साधारण सभा गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्न नियामक निकायले कडा प्रावधान ल्याउनु पर्ने बताउँछन् । यसबारे एकजना लगानीकर्ता केशव सुवेदी एकैपटक साधारण सभा आह्वान गर्नाले शेयरधनीहरुको अधिकार नै हनन् हुने भएकाले यसतर्फ कडा कदम चाल्न आवश्यक रहेको बताउँछन् ।
साधारण सभाका लागि कम्पनीहरुले असोजदेखि नै तयारी शुरु गर्ने र पुस महिना लाग्दासम्म गरिसक्ने गरी तयारी थाल्नुपर्ने लगानीकर्ताहरुको सुझाव छ ।