गार्डियन माइक्रोलाइफको आईपीओमा १९लाख बढीको आवेदन
Last updated at 01:02 pm
गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा १९ लाख ६ हजार ७४८ भन्दा बढीले आवेदन दिएका छन् ।
सीडीएस एण्ड क्लियरिङका अनुसार अनलाइन प्रणाली मेरो शेयरमार्फत यति जनाले आवेदन दिएका हुन् । कम्पनीको आईपीओमा मागभन्दा १३.६५ गुणा बढी आवेदन परेको छ । १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन भएकोमा २ करोड ५१ लाख ९० हजार ३६० कित्ताका लागि आवेदन परेको छ । करिब २ अर्ब ५१ करोड रुपैयाँ बराबरको आवेदन परेको छ ।
बाँडफाँटका क्रममा १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाउने छन् । बाँकी सबै आवेदकको हात खाली हुनेछ । धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ अनुसार जारी गरिएको शेयर १० कित्ताका दरले पुगेसम्म सबैलाई बाँडफाँट गर्नुपर्नेछ ।
सो व्यवस्थाअनुसार सबैलाई बाँडफाँट गर्न नपुग्ने भएकाले १० कित्ताका दरले १ लाख ८४ हजार ५०० जनाले मात्रै पाउने भएका हुन् ।
कम्पनीले २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो। सोमध्ये कम्पनीले १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो।