एनसेलले पायो सूचना सुरक्षा र डेटा गोपनीयताका लागि आईएसओ २७००१ र २७७०१ को मान्यता
Last updated at 02:37 pm
एनसेलले आईएसओ २७००१:२०२२ (आईएसएमएस) र २७७०१:२०१९ (पीआईएमएस) को मान्यता पाएको छ ।
एनसेल सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) र गोपनीयता सूचना व्यवस्थापन प्रणाली (पीआईएमएस) प्रमाणित हुने नेपालकै पहिलो दूरसञ्चार कम्पनी बनेको छ । कम्पनीको डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेज्ले यी मान्यताहरू प्राप्त गरेका हुन् ।
‘यी विश्वव्यापी मान्यताहरू प्राप्त गर्नु हाम्रो सूचना सुरक्षा र गोपनीयता व्यवस्थापनलाई सुदृढ पार्ने निरन्तर प्रयासहरूको परिणाम हो,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।
यी मान्यताहरू ग्राहक डेटा सुरक्षा र डेटा सेन्टर, ग्राहक सेवा र आईटी सर्भिसेज्मा गोपनीयता सुनिश्चित गर्ने अभ्यासहरूमा एनसेलले उच्चतम मापदण्डहरू पूरा गरेको प्रमाण रहेको एनसेलले बताएको छ । यसले ग्राहकहरूलाई उनीहरूका व्यक्तिगत र संवेदनशील जानकारीहरू एनसेलले उच्च जवाफदेहीताकासाथ ह्यान्डल गर्ने र डेटाहरू सुरक्षित रहने प्रत्याभूति प्रदान गरेको एनसेलको भनाइ छ ।
‘ग्राहक र साझेदारहरूका डाटा साइबर थ्रेट र अनधिकृत पहुँचबाट जोगाउन एनसेलले सशक्त उपायहरू कार्यान्वयन गरेको आइएसओ २७००१ मान्यताले सुनिश्चित गर्छ । त्यसैगरी, आईएसओ २७७०१ ले व्यक्तिगत डेटा सुरक्षा गर्न, उल्लंघनको जोखिमलाई कम गर्न र गोपनीयतामा उत्कृष्ट अन्तरराष्ट्रिय अभ्यासको अनुपालन गरेको सुनिश्चित गरेको छ,’ एनसेलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।