पाल्पा सिमेन्टले पुस २५ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्दै
Last updated at 07:28 pm
पाल्पा सिमेन्ट लिमिटेडले आगामी पुस २५ गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले सर्वसाधारणमा जारी गर्ने शेयरमध्ये उद्योग प्रभावित पश्चिम नवलपरासी र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीय वासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न अनुमति पाएको हो ।
प्रतिशेयर १०० रुपैयाँमा आईपीओ निष्कासन गर्न अनुमति पाएको कम्पनीले उद्योग प्रभावित स्थानीयलाई १८ लाख ७५ हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५ लाख ६२ हजार ५०० कित्ता भने वैदेशिक रोजगारीमा रहेका नेपालीमा निष्कासन गर्न लागिएको हो ।
उद्योग प्रभावित स्थानीयमा जारी हुने आईपीओ खरिदका लागि न्युनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिने छ ।कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ छ ।
२०६६ साल कात्तिक ९ गते पाल्पा सिमेन्ट इन्डष्ट्रिज प्राइभेट लिमिटेडको नामबाट स्थापना भएको उक्त कम्पनी २०७८ साल असार २१ गते पब्लिक लिमिटेडको रुपमा परिणत भएको हो । क्लिंकर तथा विभिन्न प्रकारका सिमेन्ट उत्पादन गर्ने उदेश्यसहित स्थापित उक्त कम्पनीको उद्योग नवलपरासीमा छ ।
कम्पनीले २०७७ साल वैशाखदेखि सिमेन्ट र २०७६ साल वैशाखदेखि क्लिंकर उत्पादन गर्दै आएको छ । कम्पनीले तानसेन ब्राण्डमा पीपीसी, ओपीसी र पीएससी सिमेन्टको उत्पादन तथा बिक्री गरिरहेको छ । गत आर्थिक वर्ष २०८१/८२ को वास्तविक वित्तीय विवरण अनुसार कम्पनी १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी सञ्चित नाफामा छ भने सो अवधिसम्म प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ७४ पैसा र प्रतिशेयर आम्दानी ३ रुपैयाँ २५ पैसा छ ।
