बोनस शेयर दिंदा कम्पनीले नै शेयरधनीका लागि करको व्यवस्था गर्नुपर्ने
Last updated at 11:00 am
धितोपत्र बजारमा सूचीकृत कम्पनीहरुले अब शेयरधनीका लागि करको व्यवस्था पनि गर्नुपर्ने भएको छ । जसअनुसार कम्पनीले शेयरधनीलाई लाभांशस्वरुप बोनस शेयर प्रदान गर्दा आवश्यक कर रकम पनि व्यवस्थापन गर्नुपर्ने भएको छ।
नेपाल धितोपत्र बोर्डले बोनस शेयर घोषणा गर्दा कम्पनीले नै करका लागि उपयुक्त रकम लाभांशबाट अनिवार्य मिलान गर्नुपर्ने व्यवस्था गरेको हो ।
धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकालाई १० औं पटक संशोधन गर्दै बोर्डले यस्तो व्यवस्था गरेको हो । यसअघि निर्देशिकामा यसलाई समेटिएको थिएन ।
जसले गर्दा कम्पनीले बोनस शेयर दिए पनि सोको कर प्रयोजनका लागि नगद छुट्याउनुपर्ने अनिवार्य व्यवस्था थिएन । यद्यपि अधिकांश कम्पनीले बोनस शेयरका लागि आवश्यक कर रकम पनि नगद लाभांशका रुपमा घोषणा गरी मिलान गर्दै आएका छन् ।
कतिपय कम्पनीले भने बोनस शेयर घोषणा गर्ने तर लगानीकर्ताले सो बोनस शेयरको छुट्टै कर तिरेपछि मात्रै डिम्याट खातामा बोनस शेयर पठाइिदने गरेपछि यस्तो व्यवस्था गरिएको बोर्डले बताएको छ । कम्पनीले करका लागि रकम व्यवस्थापन नगरेमा बोनस शेयर खातामा आउँर्दन थियो ।
नयाँ व्यवस्था लागू भएपछि अब कम्पनीहरूले करका लागि व्यवस्था गरी बाँकी लाभांश लगानीकर्ताको खातामा अनिवार्य जम्मा गरिदिनुपर्नेछ।
