साहस ऊर्जाको प्रतिशेयर आम्दानी ५२.३७ रुपैयाँ, नाफामा पनि वृद्धि
Last updated at 10:47 am
साहस ऊर्जाले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण बिहीबार सार्वजनिक गरेको छ । सार्वजनिक विवरणअनुसार उक्त अवधिमा कम्पनीले ४९ करोड ४८ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा २३ दशमलव ६ प्रतिशतले बढेको छ । गत आवको सोही अवधिमा कम्पनीले ४० करोड २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बजारमा सूचीकृत जलविद्युत् कम्पनीमध्ये साहस ऊर्जाले अब्बल वित्तीय विवरण सार्वजनिक गरेको देखिन्छ ।
विद्युत् बिक्री आम्दानी बढ्नु र वित्तीय लागत घट्दा नाफामा योगदान पुगेको छ । यस्तो आम्दानी पहिले ८६ करोड ७१ लाख रुपैयाँ रहेकोमा अहिले ९२ करोड ४६ लाख रुपैयाँ छ । त्यस्तै वित्तीय लागत पनि घटेको छ ।
वित्तीय लागत पहिले २३ करोड ४० लाख रुपैयाँ रहेकोमा अहिले १६ करोड ७९ लाख रुपैयाँ छ । बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर निरन्तर ओरालो लाग्दा सबै हाइड्रोपावरको वित्तीय लागत घटेको छ ।
यसैगरी, कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ५२ दशमलव ३७ रुपैयाँ छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १९६ रुपैयाँ छ । हाल धितोपत्र बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ६६४ दशमलव २० रुपैयाँ छ । कम्पनीको चुक्तापूँजी ३ अर्ब ७८ करोड रुपैयाँ छ । कम्पनीले ८६ मेगावाट क्षमताको दूधकोशी आयोजना सञ्चालन गरिरहेको छ ।
