बाढीपहिरोबाट ३२ जलविद्युत आयोजनामा क्षति, इलाममा मात्रै १६ आयोजनामा क्षति
Last updated at 07:55 pm
मुलुकका विभिन्न भागमा गत असोज १७ गतेदेखि १९ गतेसम्म आएको भारी वर्षाका कारण तीन वटा प्रदेशका १० जिल्लामा ३२ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ ।
स्वतन्त्र ऊर्जा उत्पादकहरुको सस्था, नेपाल (इप्पान) का अनुसार सोमबार अपरान्हसम्ममा सञ्चालनमा रहेका १८० मेगावाट क्षमताका १७ आयोजना र निर्माणाधीन अवस्थाका ३३८ मेगावाट क्षमताका १५ जलविद्युत आयोजना बाढीबाट प्रभावित भएका छन् ।
विगतका वर्षहरुमा बाढीको पूर्वसूचना प्राप्त नहुँदा तथा प्राप्त सूचनाप्रति पनि विश्वस्त नहुँदा ठूलो मानवीय क्षतिसमेत हुँदै आएकोमा यस वर्ष इप्पान र जल तथा मौसम विज्ञान विभागबीच बाढीको पूर्वसूचना आदान प्रदान गर्ने सम्झौता भई सोही अनुसार पूर्वसूचना प्रेशित गरी मानवीय क्षति रोक्न सफल भएको इप्पानका अध्यक्ष गणेश कार्कीले बताए ।
समयमै आवश्यक पूर्वतयारी गर्दा यसपटक भारी वर्षाको तुलनामा जलविद्युत आयोजनाहरुमा निकै कम मात्र भौतिक क्षति भएको पनि अध्यक्ष कार्कीले बताए ।
सञ्चालनमा रहेका १७ मध्ये १५ आयोजना इलामका बाढी पहिरोका कारण सबैभन्दा बढी प्रभावित भएका छन् । इलाममा मात्रै सञ्चालनमा आएका १५ वटा जलविद्युत आयोजनाहरुको उत्पादन बन्द भएको छ ।
निर्माणाधीन आयोजनाको धेरै क्षति पहुँचमार्गमा
निर्माणाधीन जलविद्युत आयोजनाहरुमा सबैभन्दा धेरै क्षति पहुँचमार्गमा देखिएको छ । मनाङमा रहेको ४९ दशमलव ९५ मेगावाट क्षमताको दाना खोला जलविद्युत आयोजनाले बनाएको १२ किलोमिटर पहुँचसडकको धेरै ठाउँमा पहिरो गएको प्रवर्द्धक कम्पनी लालुपाते हाइड्रोपावरका सञ्चालक मोहनकुमार डाँगीले जानकारी दिए ।
यहि वर्षदेखि आयोजनाको निर्माण शुरु भएकाले पहुँच सडक सेट नभइसकेको अवस्थामा वर्षाले धेरै ठाउँमा बाटो बगाएको डाँगीले बताए ।
निर्माणाधीन अवस्थामा रहेका आयोजना मध्ये सिद्धि हाइड्रोपावरद्वारा प्रवर्द्धित इलाममा रहेको १० मेगावाटको सिद्धिखोला जलविद्युत आयोजना १० दिनभित्र व्यवसायिक उत्पादनमा जाने तयारीमा रहेकोमा बाढीले क्षति पुर्याउँदा यसको विद्युत उत्पादन मिति पर सरेको छ ।
पाँचथरमा रहेको २१ दशमलव ५ मेगावाटको सभाखोला बी र ९ दशमलव ९ मेगावाटको हेवाखोला जलविद्युत आयोजनाको निर्माण सामाग्री र निर्माण उपकरणहरु नै बगाएको छ ।
सञ्चालनमा रहेका तथा निर्माणाधीन अवस्थाका आयोजनाहरुसम्म पुग्ने पहुँचमार्गहरु अवरुद्ध भएका कारण क्षतिको विस्तृत विवरण आउन भने अझै केही समय लाग्न सक्ने इप्पानले जनाएको छ ।