अविलम्ब धितोपत्र बजार खुला गर्न लगानीकर्ताको माग
Last updated at 02:06 pm
हालैका दिनमा मुलुकमा उत्पन्न असहज परिस्थितिका कारण भएको जनधनको क्षतिपछि सबै कार्यालयहरु आइतबारट सूचारु भएपनि धितोपत्र बजार भने बन्द नै छ ।
जेनजी आन्दोलनमा सरकारी दमन र त्यसपछिको अकल्पनीय विध्वंसका कारण मुलुकको शेयरबजारको कारोबार लामो समय प्रभावित हुने भएको छ । गत भदौ २४ गतेदेखि ठप्प भएको धितोपत्रको कारोबार अब असोज ५ गते आइतबार मात्र शुरू हुनेछ । नेप्सेले गत शुक्रवार जारी गरेको विज्ञप्तिमा असोज २ गतेसम्म कारोबार नगर्ने भनिए पनि असोज ३ गते शुक्रवार र असोज ४ गते शनिवार सार्वजनिक बिदा पर्ने भएकाले बजार असोज ५ गतेबाट मात्रै सञ्चालन हुने छ ।
आन्दोलन भएका कारण बजार बन्द गरेको भए पनि अहिले सबै कार्यालयहरु सञ्चालनमा आएकाले धितोपत्र बजार पनि सञ्चालन गर्न सकिने लगानीकर्ता बताउँछन् ।
धितोपत्र बजार सञ्चालन गर्न सकिने भन्दै नेप्से यतिबेला नेपाल धितोपत्र बोर्डको निर्देशन पर्खेर बसेको छ । बोर्डको निर्देशनमा बन्द भएको बजार पुन उसकै निर्देशनमा मात्रै धितोपत्र बजार खुल्न सक्छ । बोर्डले निर्देशन आएको खण्डमा बजार खोल्न कुनै समस्या नरहेको नेप्सेका अधिकारीहरु बताउँछन् ।
बजार खोल्नका लागि आवश्यक पूर्वाधारहरुमा डाटा सेन्टर, बैंकिङ, ब्रोकर, सिडिएससी, ब्रोकर कम्पनी तथा इन्टरनेट हो । अहिले यी सबै ठिक छ।
यता लगानीकर्ताहरुले बजार तत्काल खोल्न माग गरेका छन् । तत्कालिन समयमा बजार बन्द भए पनि अब भने बजार बन्द गरेर लगानीकर्ताको सम्पत्ति बन्धक बनाउन नहुने लगानीकर्ताको दाबी छ ।
धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा ९० उपदफा १ खण्ड (घ) बमोजिम बजार बन्द गर्नुपरेको नेप्सेले जनाएको छ ।
ऐनको दफा ९० मा बोर्डको विशेष अधिकार समेटिएको छ । सोअन्तर्गत बुँदा नम्बर घ मा धितोपत्र बजारसँग परामर्श गरी बढीमा पाँच दिनसम्म धितोपत्र बजार बन्द गर्न आदेश दिने व्यवस्था छ । यो व्यवस्थाअनुसार अधिकतम पाँच दिन बजार बन्द गर्न सकिन्छ ।
प्राकृतिक प्रकोप, राष्ट्रिय संकट वा काबुबाहिरको परिस्थिति आइपरेमा धितोपत्र बजारले बोर्डलाई जानकारी दिई कारोबार प्रणालीको सञ्चालन निश्चित समयका लागि स्थगन गर्न सकिने सो नियमावलीमा उल्लेख छ ।
धितोपत्र बजारका लगानीकर्ताहरु भने अविलम्ब बजार खोल्नु पर्ने बताएका छन् ।उनीहरुले सम्पत्ति बन्धक बनाइरहन नमिल्ने भन्दै बजार खोल्नुपर्ने बताएका छन् ।