आईपीओ निष्कासन गर्ने योजनामा फेदी खोला हाइड्रोपावर
Last updated at 08:52 am
फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गर्ने भएको छ । कम्पनीले १७ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।
हालै सम्पन्न कम्पनीको साधारणसभाले कम्पनीको अधिकृत पूँजी ६० करोडमा १० करोड थप गरी ७० करोड पुर्याउने र सोको २५ प्रतिशत अर्थात् १७ करोड ५० लाखको सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने निर्णय गर्दै सो कार्यान्वयनका लागि सञ्चालक समितिलाई अख्तियारीसमेत दिएको छ ।
कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका–६ मा बहने फेदीखोलामा फेदीखोला (थुमलुङ्ग) मा ४.३ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । सो आयोजना आगामी पुस मसान्तमा निर्माण सम्पन्न हुनेछ ।
आयोजना निर्माण सम्पन्न गर्न ९४ करोड लाग्ने अनुमान गरिएकामा २०८१ साउन १५ को बाढीका कारण ४ करोड लागत वृद्धि भई ९८ करोड रुपैयाँ लाग्ने भएको छ । आयोजना निर्माणका लागि ४९ प्रतिशत अर्थात् ४८ करोड स्वपूँजी शेयरधनीबाट र बाँकी ५१ प्रतिशत अर्थात् ५० करोड राष्ट्रिय वाणिज्य बैंकबाट ऋणस्वरुप जुटाइएको कम्पनीका सञ्चालक प्रकाशचन्द्र दुलालले जानकारी दिए।
त्यसैगरी, साधारणसभाले वन्डर्स इनर्जी (खिम्ती घ्वाङ्गखोला नौ मेगावाट) मा ५ करोड लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै कम्पनीले इर्खुवा खोला जलविद्युत् आयोजना १५ मेगावाटमा पनि १५ करोड लगानी गर्ने भएको छ । यसैगरी, सभाले कम्पनीको मुख्य लगानीमा २०९० सालभित्रमा कम्तीमा १०० मेगावाट क्षमताको आयोजना अगाडि बढाउने निर्णय गरेको छ ।
साथै कम्पनीको नियमावली कम्पनीमा पाँच जना सञ्चालक रहने व्यवस्था भएअनुरुप सभाले अगामी चारवर्षे कार्यकालका लागि संस्थापक चन्द्रप्रसाद बाँस्तोला, प्रकाशचन्द्र दुलाल र कविता अधिकारीलाई चयन गरेको छ ।