माउन्ट एभरेष्ट डिष्टिलरीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल
Last updated at 11:16 am
माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने तयारी गरेको छ।
यसका लागि कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कसन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ।यस सम्बन्धमा गत साउन २८ गते काठमाडौंको नक्सालस्थित सिद्धार्थ क्यापिटलको कार्यालयमा दुबै पक्षबीच सम्झौता सम्पन्न भएको छ।
सम्झौतापत्रमा माउन्ट एभरेष्ट डिष्टिलरी लिमिटेडका प्रबन्ध सञ्चालक सतीश कुमार कर्ण र सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सन्दिप कार्कीले हस्ताक्षर गरेका छन्। कम्पनीले कुल १२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरेको छ।
विसं २०६५ सालमा स्थापना भएको उक्त कम्पनीले हाल ब्लेन्डेड मदिरा, अन्नबाट उत्पादित इएनए स्पिरिट, डिस्टिलर्स वेट ग्रेन सोल्युबल उत्पादन गर्दै आइरहेको छ ।
कम्पनीको कर्पोरेट कार्यालय काठमाडौंमा छ भने कारखाना टिकुलीगढ, तिलोत्तमा–१४, रुपन्देही जिल्लामा छ । उक्त कम्पनीको स्पिरिट उत्पादन क्षमता प्रतिदिन १० किलोलीटर र बोटल बन्द गर्ने क्षमता प्रतिदिन ३ हजार केस छ ।