कृषि विकास बैंकको नाफा ४३ प्रतिशत बढ्यो,यस्ता छन् अन्य सूचक
Last updated at 11:55 am
कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आइतबार प्रकाशित गरेको छ । जसमा कम्पनीको वित्तीय विवरण उत्साहजनक देखिएको छ ।
सो अवधिमा कम्पनीले ४ अर्ब १५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४३ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले २ अर्ब ८९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।
नोक्सानी व्यवस्थापनवापत छुट्याइने रकम (इम्पेरिमेन्ट चार्ज) घटेसँगै नाफामा उच्च वृद्धि देखिएको हो । यस्तो रकम अघिल्लो आर्थिक वर्षमा २ अर्ब ४५ करोड रहेकोमा गत आर्थिक वर्ष १० करोड ६२ लाख रुपैयाँ छ ।
खुद ब्याज आम्दानी सामान्य घटेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा १० अर्ब ५५ करोड रहेकोमा गत आर्थिक वर्ष ९ अर्ब ८२ करोड छ । यसैगरी, कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी २७ रुपैयाँ ६३ पैसा छ । यस्तो आम्दानी अघिल्लो आवको तुलनामा ९ रुपैयाँ बढेको हो ।
समीक्षा अवधिसम्ममा कम्पनीको वितरणयोग्य नाफा २ अर्ब ८७ करोड रुपैयाँ छ । उक्त अवधिमा कम्पनीले निष्क्रिय कर्जा घटाएको देखिन्छ ।
यस्तो निष्क्रिय कर्जा पहिले ३ दशमलव ९१ प्रतिशत रहेकोमा गत असार मसान्तसम्म ३ दशमलव २६ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ २४१ रुपैयाँ छ ।कम्पनीको रिजर्भ कोषमा १९ अर्ब ८६ करोड रुपैयाँ सञ्चित छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले २ खर्ब ९३ अर्ब ५७ करोड रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब १३ अर्ब १४ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
कम्पनीको चुक्तापूँजी १३ अर्ब ८५ करोड ५२ लाख रुपैयाँ छ ।हाल धितोपत्र बजारमा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३२८ रुपैयाँ छ ।