आरएसडिसी लघुवित्तले कमायो १० करोड ३१ लाख नाफा
Last updated at 09:23 am
आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण शुक्रबार प्रकाशित गरेको छ। जसअनुसार उक्त अवधिमा कम्पनीको नाफा अघिल्लो आवको तुलनामा घटेको छ।
गत आवको अन्त्यसम्ममा कम्पनीले १० करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आवको तुलनामा २७ दशमलव १९ प्रतिशतले कम हो। अघिल्लो आवको सोही अवधिसम्ममा कम्पनीले १४ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेका कारण कम्पनीको खुद नाफामा असर परेको देखिन्छ।समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी २२ दशमलव ५४ प्रतिशत र अन्य सञ्चालन आम्दानी पनि ६९ दशमलव ६९ प्रतिशतले घटेको छ।
त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी २४ दशमलव ५१ प्रतिशतले घटेको छ भने सञ्चालन मुनाफा ४० दशमलव ३९ प्रतिशतले घटेको छ। त्यसैगरी, उक्त अवधिसम्ममा कम्पनीको वितरणयोग्य मुनाफा ८ करोड ५४ लाख रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी ७ रुपेयाँ ९८ पैसा छ।
समीक्षा अवधिसम्मममा कम्पनीको रिजर्भ कोषमा २६ करोड ८३ लाख रुपैयाँ सञ्चित छ। गत आवको अन्त्यसम्ममा कम्पनीले ६ अर्ब ८० करोड ९० लाख रुपैयाँ सापटीबाट ६ अर्ब २२ करोड ४३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। यसैगरी, उक्त अवधिसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ७०.२६ गुणा छ भने प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ९५ पैसा छ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ३ करोड ४० लाख रुपैयाँ छ । साताको अन्तिम कारोबार दिन बिहीबार धितोपत्र बजार बन्द हुँदा कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७८७ रुपैयाँ छ ।