हिमालयन बैंकको एफपीओ असार ३२ गतेदेखि निष्कासनमा
Last updated at 07:11 pm
हिमालयन बैंकले आगामी असार ३२ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ।
बैंक तथा वित्तीय संस्था सम्बन्धि ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत शेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकोले कम्पनीले एफपीओ निष्कासन गर्न लागेको हो।
हाल कम्पनीको कुल चुक्तापूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार ६३१ रुपैयाँ छ। जसमध्ये ७२ दशमलव ९९ प्रतिशत हिस्सा संस्थापक समूहको छ भने २७ दशमलव शून्य १ प्रतिशत हिस्सा सर्वसाधारणको छ।
अब सर्वसाधारण समूहको हिस्सा ३० प्रतिशत पुर्याउन कम्पनीले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ५७ रुपैयाँ थप गरी जम्मा १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता थप सार्वजनिक निष्कासन गर्न लागेको हो।
कम्पनीको एफपीओमा न्यूनतम १० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। एफपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल छ। एफपीओ निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २२ अर्ब ५८ करोड १६ लाख ६२ हजार ५३१ रुपैयाँ ९० पैसा पुग्नेछ।