गर्जाङ उपत्यका हाइड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
Last updated at 07:45 pm
गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेडले आईपीओ निष्कासन गर्ने प्रक्रियालाई अगाडि बढाएको छ । जसका लागि मुक्तिनाथ क्यापिटल लिमिटेड र गर्जाङ उपत्यका हाइड्रो पावर लिमिटेड बीच दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।
उक्त सम्झौतापत्र मार्फत मुक्तिनाथ क्यापिटलले उक्त कम्पनीको प्राथमिक शेयर निष्कासन गर्ने प्रक्रियालाई अगाडि बढाउने छ ।एक कार्यक्रमका बीच गर्जाङ उपत्यका हाइड्रो पावरका तर्फबाट अध्यक्ष अरुण कुमार सुवेदी र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
कम्पनीले जारी पूँजी ५० करोड रकमको २० प्रतिशत प्रतिशतले हुन आउने अर्थात् १० करोड रकम बराबरको रु।१०० अंकित दरका १० लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्नेछ । कम्पनीले नियामक निकायहरूबाट आवश्यक स्वीकृतिप्राप्त गरेपछि सम्झौतापत्रअनुसार शेयर निष्कासन प्रक्रिया अघि बढाइनेछ ।
गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेड विसं २०६० पुस २१ गते प्राइभेट लिमिटेड कम्पनीको रूपमा स्थापति कम्पनी हो । यो कम्पनी विसं २०७० चैत २४ गते पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गरिएको हो ।
रामेछाप जिल्लामा उक्त कम्पनीको २ दशमलव ८३ मेगावाट क्षमताको रन–अफ–दि–रिभर प्रकारको चकेखोला जलविद्युत् आयोजना सञ्चालनमा छ । जुन आयोजनाले विसं २०७४ मंसिर २८ गतेदेखि व्यावसायिक उत्पादन शुरु गरिसकेको छ ।