मौद्रिक नीति ल्याउने तयारीमा जुट्यो राष्ट्र बैंक
Last updated at 07:28 am
नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तयारी शुरु गरेको छ । केन्द्रीय बैंकले आगामी १५ साउनभित्र मौद्रिक नीति ल्याउन सरोकारवालासँग सुझाव माग गरेको हो ।
नवनियुक्त गभर्नर प्राडा विश्वनाथ पौडेलको यो पहिलो मौद्रिक नीति हो । उनले वित्तीय क्षेत्रमा देखिएका पछिल्ला समस्या पहिचान र नीतिगत सम्बोधनका लागि स्थालगत निरीक्षण समेत शुरु गरेको अवस्था छ ।
‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ मा भएको व्यवस्थाबमोजिम यस बैंकले प्रत्येक वर्ष मौद्रिक नीति तर्जुमा गरी सार्वजनिक गर्दै आएको छ,’ बैंकको सूचनामा उल्लेख छ, ‘यसै क्रममा आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीति तर्जुमाका लागि राय–सुझाव भए यस बैंकको आर्थिक अनुसन्धान विभागमा र इमेलमा १० असार २०८२ भित्र उपलब्ध गराउनुहुन सम्बन्धित सबैमा अनुरोध छ ।’
केन्द्रीय बैंकको मौद्रिक नीति तर्जुमा कार्यविधि अनुसार आर्थिक वर्ष शुरु भएको १५ दिन अर्थात् १५ साउनभित्र मौद्रिक नीति ल्याइसक्नु पर्छ । सोही अनुसार आगामी असार १० गतेसम्म मौद्रिक नीतिका लागि सुझाव दिइ सक्न केन्द्रीय बैंकले अनुरोध गरेको छ।
पछिल्लो समय समग्र माग बढ्न सकेको छैन । आगामी आवको मौद्रिक नीति सुस्त रहेको अर्थतन्त्र चलायमान बनाउने तथा समग्र मागमा सुधार ल्याउने गरी आउनु पर्ने अपेक्षा सरोकारवालाले गरेका छन्।
केन्द्रीय बैंकले मौद्रिक नीतिका लागि सार्वजनिक रूपमा सुझाव माग गर्दै प्रक्रिया शुरु भएको जानकारी दिएको छ।