लक्ष्यअनुसार राजस्व संकलन गर्न थप मेहनत गरौं : अर्थमन्त्री
Last updated at 08:21 pm
अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले लक्ष्यअनुसार राजस्व संकलन गर्न थप मेहनत गर्नुपर्ने बताएका छन् ।
आगामी आर्थिक वर्ष २०८२/८२ का लागि गत जेठ १५ गते १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको सरकारले राजस्वबाट १३ खर्ब १५ अर्ब रुपैयाँ स्रोत जुटाउने लक्ष्य लिएको छ । त्यो बराबरको राजस्व उठाउन चुनौती हुने भनिरहँदा अर्थमन्त्री पौडेलले थप मेहनत गरेको अवस्थामा उक्त लक्ष्य पुरा गर्न सकिने बताए ।
नेपाल आर्थिक पत्रकार संघ नाफिजले शनिबार आयोजना गरेको पोस्ट बजेट छलफलमा अर्थमन्त्री पौडेलले राजस्व संकलनको लागि थोरै मेहनत गर्न आवश्यक रहेको बताए । उनले भने, ‘काम नगरेको अवस्थामा हासिल गर्न सकिँदैन । काम गरिएको अवस्थामा लक्ष्य हासिल गर्न सकिन्छ ।’
यस्तै, आगामी आवमा ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने गरी बजेट आएको उनको भनाइ छ । सरकारले ल्याएको बजेटमा सकारात्मक प्रक्रिया आएकाले बजेटको कार्यान्वयन पनि सकारात्मक हुने उनले बताए ।
अर्थमन्त्री पौडेलले भने, ‘बजेट निर्माणका सिद्धान्तलाई अनुसरण गरेर बजेट बनाइएको छ । सीमा पालना पनि गरिएको छ । स्रोत व्यवस्थापन गरेर नै बजेट निर्माण गरिएको छ । राजस्वको अनुमान आगामी आर्थिक वर्षमा लक्ष्य हासिल हुने विश्वास छ । आर्थिक वर्ष सकिदै गर्दा प्रश्न गर्न सक्ने अवस्था आउन दिइने छैन ।’
राष्ट्रिय योजना आयोगको उपाध्यक्ष डा शिवराज अधिकारीले ३ करोड रुपैयाँभन्दा कम लागतका परियोजना केन्द्रीय बजेटमा समावेश नगर्ने नीतिले यसपाली परियोजनाहरूमा बजेट विनियोजन गर्ने अभ्यासमा सुधार आएको बताए ।
यसैगरी, पूर्व अर्थमन्त्री जनार्दन शर्माले करिब ४ खर्ब रुपैयाँ बजेट अधिक भएको दावी गरे । ‘चालू आर्थिक वर्षमा १५ खर्ब रुपैयाँ हाराहरी खर्च हुने अवस्था छ । अहिलेको आधारमा आगामी आर्थिक वर्षमा बजेट खर्च हुने गुणात्मक आधार केही पनि छैन । आगामी आर्थिक वर्षमा खर्च १५ खर्बबाट पौने १६ खर्ब पुग्ला । त्यसो हुँदा चार खर्ब रुपैयाँ बजेट अधिक नै देखिन्छ,’ उनले बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालीलाई विदेशीमा लगानी गर्न दिने नीति ल्याउनु ऐतिहासिक भएको बताए । निजी क्षेत्रलाई सहयोग पुग्ने गरि नै बजेट आएको उनको भनाइ छ ।
राम्रो निर्णय लिनका लागि निजी क्षेत्र सधैँ सरकारको साथमा रहेको उनले बताए । केही समयका लागि आलोचना भए पनि लामो समयसम्म सकारात्मक प्रभाव पर्ने निर्णय गर्नका लागि सरकार डराउन नहुने उनको भनाइ छ ।
त्यस्तै, चेम्बर अफ कर्मशका अध्यक्ष कमलेश कुमार अग्रवालले विषम परिस्थितिमा आएको आगामी आर्थिक वर्षको बजेट महत्वकांक्षी भएको बताए । आगामी आवको बजेट लगानी प्रवर्द्धन गर्ने खालको आएको उनले बताए ।
तीन प्रतिशत ब्याजमा युवालाई २० लाख रुपैयाँसम्म ऋण दिने नीति स्वागतयोग्य भएको उनले बताए । यो नीतिले बिदेसिने युवाको सङ्ख्यामा कमी हुने विश्वास लिइएको उनको भनाइ छ ।
नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष विष्णु अग्रवालले नयाँ बजेट स्वागतयोग्य रहेको बताए । लगानी आकर्षण गर्नका लागि यो बजेट निकै उपयोगी हुने उनको भनाइ छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले निर्माण क्षेत्रका लागि बजेट सकारात्मक रहेको बताए । यद्यपि, त्यसको कार्यान्वयनमा सफल हुनुपर्ने बताउँदै आगामी आवमा कम्तीमा ९० प्रतिशत पूँजीगत खर्च गर्नुपर्ने उनले बताए ।
यसैगरी, नाडा अटो मोबाइल एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीले बजेट सकारात्मक आएको बताए । त्यस्तै, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष ऊर्जा क्षेत्रका गरिएका अधिकांश व्यवस्था राम्रो भए पनि टेक एन्ड पे मोडलमा विद्युत् खरिदबिक्री सम्झौता गर्ने नीति गलत भएको बताए ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेलले डिजिटल भुक्तानीको सेवा शुल्कमा लगाएको भ्याट हटाइएकोले डिजिटल अर्थतन्त्रमा टेवा पुग्ने बताए ।