एनआईसी एशिया बैंकको कर्पोरेट कार्यालय कमलादीमा स्थानान्तरण
Last updated at 11:40 am
एनआईसी एशिया बैंकले आफ्नो कर्पोरेट कार्यालय काठमाडौं–२८, कमलादीस्थित नयाँ भवनमा स्थानान्तरण गरेको छ।
कम्पनीले नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त गरी विगतमा थापाथलीस्थित ट्रेड टावरमा रहेको कर्पोरेट कार्यालयबाट सेवा समेट्दै नयाँ स्थानमा स्थानान्तरण गरेको बताएको छ।
हालैमात्र कम्पनीका सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले कार्यालयको उद्घाटन गरेका छन्। अबदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृत, अन्य कार्यकारीहरू तथा विभिन्न विभागहरू कमलादीस्थित सोही भवनबाट सञ्चालन हुने छन्।
कम्पनीले कार्यालय स्थानान्तरणसँगै आफ्नो सेवा प्रदान गर्ने कार्य प्रणाली थप प्रभावकारी, सुविधाजनक र ग्राहकमैत्री हुने दाबी गरेको छ।
कम्पनीले आफ्नो आफ्नै भवनबाट सेवा सञ्चालन गर्न थालेपछि ग्राहकलाई भौतिक पहुँच, सेवा प्रक्रिया तथा सूचना व्यवस्थापनमा सहजता आउने विश्वास व्यक्त गरेको छ।
साथै, नवीनतम प्रविधिसहितको पूर्वाधारयुक्त नयाँ भवनमा सेवा विस्तार गर्नु बैंकको दीर्घकालीन योजनाको महत्वपूर्ण हिस्सा भएको पनि कम्पनीले बताएको छ ।