साताको शेयर समीक्षा : घटेको बजार गभर्नर नियुक्तीलगत्तै बढ्ने अपेक्षा
Last updated at 07:34 am
यो साता धितोपत्र बजार घटेको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) का अनुसार यो साता नेप्से परिसूचक १ दशमलव २९ प्रतिशत अर्थात् ३४ दशमलव १९ अंक घटेर २ हजार ६२३ दशमलव ८३ विन्दुमा झरेको छ । गत साता नेप्से २ हजार ६५८ दशमलव शून्य २ विन्दुमा बन्द भएको थियो ।
यस साता चार कारोबार दिन मात्र बजार खुलेको थियो । बिहीबार मजदुर दिवसका कारण सार्वजनिक विदा परेसँगै यो साता चार दिन कारोबार भएको हो । तीन दिन बजार घटेको थियो भने एक कारोबार दिन बजार बढेर बन्द भएको थियो।
पहिलो कारोबार दिन आइतबार ३ दशमलव ५८ अंक बढेको बजार सोमबार १४ दशमलव ५३, मंगलबार १५ दशमलव शून्य ८ र बुधबार ८ दशमलव १४ अंकले घटेको थियो।
यस साता सेन्सेटिभ इण्डेक्स ५ दशमलव २६ अंक घटेको छ भने फ्लोट इण्डेक्स २ दशमलव २३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १ दशमलव २७ अंकले घटेको छ।
यो साता नेप्से घटेपनि कारोबार रकम भने बढेको छ। यो साताको पहिलो कारोबार दिन आइतबार १० अर्ब ८७ करोडको कारोबार भएकोमा सोमबार ८ अर्ब ९१ करोड, मंगलबार ७ अर्ब ५७ करोड र बुधबार ९ अर्ब ३७ करोडको भएको छ ।
गत साता दैनिक औषतमा ८ अर्ब २० करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ९ अर्ब १८ करोडको शेयर खरिदबिक्री भएको छ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण करिब साढे एक प्रतिशतले घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब १९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यो साता ५६ अर्ब रुपैयाँ घटेर ४३ खर्ब ६२ अर्ब रुपैयाँमा सीमित भएको छ।
यसैगरी, यो साता १३ वटा उपसमूहमध्ये तीन वटा उपसमूहको परिसूचक बढेको छ भने १० वटा उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक सर्वाधिक १ दशमलव ५० प्रतिशतले बढेको छ।त्यस्तै यो साता हाइड्रोपावर समूह शून्य दशमलव ७१ प्रतिशतले बढेको छ । नेप्सेमा हाइड्रोपावर समूहमा सबैभन्दा धेरै ९१ वटा कम्पनी सूचीकृत छन् ।
मूल्य धेरै बढेका १० कम्पनीमा आठ वटा हाइड्रोपावर कम्पनी छन् । दुई वटा कम्पनी नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य ६१ प्रतिशतले बढेको छ ।
यस साता नेप्सेमा ९५ लाख ८७ हजार ४७१ दशमलव ९३ कित्ता सूचीकृत भएको छ। यस साता मिथिला लघुवित्त वित्तीय संस्था, श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी र ग्रिन भेन्चर्सको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छभने ओम मेगाश्री फर्मास्यूटिकल्सको आईपीओ नेप्सेमा सूचीकृत भएको छ ।
गभर्नर नियुक्तीपछि बजार बढ्ने अपेक्षा
केहि सातादेखि बजार विभिन्न कारणले गर्दा प्रत्यक्ष रुपमा प्रभावित भइरहेको छ । गत सातादेखि नै बजारलाई विभिन्न पक्षको आन्दोलन, गभर्नर नियुक्तिको विषय र राजनीतिक अन्योलताले बढी प्रभाव पार्दै आएको लगानीकर्ता बताउँछन् ।
हुन त केहि दिनअघि मात्र शिक्षकसँग सरकारले वार्ता गरिसकेको छ । सम्भबत : अबको केहि दिनमा नेपाल राष्ट्र बैंकको गभर्नर पनि नियुक्ती हुने छ । यसका लागि गभर्नर सिफारिस समितिले पूर्णता पनि पाइसेकेको छ ।
सरकारको नीति तथा कार्यक्रम पनि पारित भइसकेको छ । जसले गर्दा आगामी साता बजार बढ्ने अपेक्षा लगानीकर्ताहरुले गरेका छन् ।आगामी साता बजारलाई सकारात्मक प्रभाव पार्ने आधारहरु पनि बलिया रहेकाले बजार बढ्ने लगानीकर्ता सरोज न्यौपाने बताउँछन् ।