सन नेपाल लाइफ इन्स्योरेन्सको हकप्रद शेयर वैशाख ३० गतेदेखि निष्कासनमा
Last updated at 09:56 am
सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अगामी वैशाख ३० गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ।
कम्पनीले हाल कायम चुक्तापूँजीको २७ प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो।अब कम्पनीले १ कित्ता शेयर बराबर नयाँ शूनय दशमलव २७ कित्ता अनुपातमा हकप्रद शेयर निष्कासन गर्नेछ ।
कम्पनीले १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ।कम्पनीको हकप्रद शेयरमा शेयरधनीले आगामी जेठ १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।
हकप्रद निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्गस नेपालले इन्स्योरेन्सलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता औषतस्तरको रहेको संकेत गर्दछ।
हाल कम्पनीको चुक्तापूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ छ। हकप्रद निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब ३ करोड १२ लाख ३२ हजार रुपैयाँ पुग्नेछ।कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग छ।
गत वैशाख ४ गतेसम्म कायम शेयरधनीले हकप्रद शेयरका लागि आवेदन दिन सक्नेछन् । साताको अन्तिम कारोबार दिन बिहीबार बजार बन्द हुँदा उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता ५०१ रुपैयाँ छ ।