ग्लोबल आइएमई बैंकको नाफा ३७% ले वृद्धि
Last updated at 09:43 am
ग्लोबल आइएमई बैंकले चालू अर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । जसअनुसार उक्त अवधिमा कम्पनीको नाफा ३७ प्रतिशतले वृद्धि भएको छ ।
साउनदेखि चैत मसान्तसम्ममा कम्पनीले ४ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो नाफा ३ अर्ब ३० करोड रुपैयाँ थियो ।
कम्पनीको नाफासँगै प्रतिशेयर आम्दानी बढेको छ । पहिले १२।२० रुपैयाँ रहेको वार्षिक प्रतिशेयर आम्दानी अहिले १५ दशमलव ८६ रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी सामान्य घटे पनि इम्पेरिमेन्ट चार्ज घट्दा नाफामा उल्लेख्य योगदान पुगेको देखिन्छ ।
समीक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५ प्रतिशतले घटेको छ । पहिले लोन प्रोभिजन ५ अर्ब २६ करोड रुपैयाँ रहेकोमा अहिले ३ अर्ब ११ करोडमा झरेको छ ।जसका कारण नाफा बढेको देखिन्छ । कम्पनीको वितरणयोग्य नाफा ३ अर्ब ५४ करोड रुपैयाँ छ ।
समीक्षा अवधिमा कम्पनीको निष्क्रिय कर्जा ४ दशमलव ७४ बाट बढेर ४ दशमलव ९८ प्रतिशत पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ छ भने धितोपत्रको बजार मूल्य २२३ रुपैयाँ छ । समीक्षा अवधिमा आधार दर ६ दशमलव ३८ प्रतिशत छ ।
कम्पनीको जगेडा कोषमा २८ अर्ब २० लाख रुपैयाँ सञ्चित छ। तेस्रो त्रैमाससम्ममा कम्पनीले ५ खर्ब १७ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।
कम्पनीको चुक्तापूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ छ ।