साताको शेयर समीक्षा : बजारले लय समातेको संकेत
Last updated at 06:23 am
यो साता समग्र धितोपत्र बजारले सकारात्मक लय समातेको छ । यो साता बजार १ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ । गत साता २ हजार ६७० विन्दुमा रहेको बजार यो साता बढेर २ हजार ७२२ विन्दुमा पुगेको छ । गत साता भने बजार १ दशमलव २२ प्रतिशतले घटेको थियो ।
यो साता धितोपत्र बजारमा चार दिन कारोबार भएको छ । यो साता नयाँ वर्षको पहिलो दिन भएकाले सोमबार सार्वजनिक विदा थियो । वर्ष २०८२ शुरु भएपछि भने सबै दिन बजार बढेको छ । यो साता चार दिनको कारोबारमा तीन दिन बजार बढेको थियो भने एक दिन मात्र बजार घटेको देखिन्छ ।
बजारले लय समातेकाले यो साता १ दशमलव ९४ प्रतिशत अर्थात् ५२ दशमलव शून्य ३ अंकले शेयर बजारमा सुधार आएको छ । यो साता ३२ अर्ब ८८ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ । अघिल्लो साता भने २१ अर्ब ९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।
यो साता बजार पूँजीकरण ४५ खर्ब २६ अर्ब बराबरको पुगेको छ । अघिल्लो साता बजार पूँजीकरण ४४ खर्ब ३९ अर्ब रपैयाँ बराबर थियो । समग्रमा यो साता बजार बढेकाले लगानीकर्ताको सम्पत्ति पनि ८७ अर्बले बढेको छ।
खासगरी यो साता लगानी समूह सबैभन्दा धेरै ७ दशमलव ३३ प्रतिशतले बढेको छ । मुख्यतः यो समूहमा रहेका तीन कम्पनीको मूल्यमा भएको उच्च वृद्धि भएको छ ।
तीमध्ये तीन कम्पनी एचआईडीसीएल, निफ्रा र एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्यमा आएको वृद्धिले समग्र समूह बढेको हो । त्यस्तै एनआरएन इन्फ्रास्ट्रक्चरको यो साता ११ दशमलव ८९ प्रतिशत मूल्य बढेर हालसम्मकै उच्च १ हजार ९०० रुपैयाँ पुगेको छ ।सोही समूहका नागरिक लगानी कोष, सीईडीबी होल्डिङ्स, इमर्जिङ नेपाल र हाथवे इन्भेस्टमेन्ट कम्पनीको पनि मूल्य बढेको छ ।
यो साता रकमका आधारमा सबैभन्दा धेरै कारोबार बलेफी हाइड्रोपावरको छ । साताभर उक्त कम्पनीको २ अर्ब ७८ करोडको कारोबार भएको छ। यस कम्पनीको संस्थापक र स्थानीयको शेयरमा लकइन खुलेसँगै कारोबार बढेको देखिन्छ ।
यसैगरी, धेरै कारोबार भएका अरु कम्पनीमा हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रास्ट्रक्चर, राधी विद्युत्, ङादी ग्रूप, सीईडीबी होल्डिङ्स, हिमालयन रिइन्स्योरेन्स, एचआईडीसीएल, नेपाल पुनर्बीमा छन् । बजार बढ्दा यो साता लगानीकर्ताले एउटै कम्पनीबाट ४६ प्रतिशतसम्म नाफा कमाएका छन् ।जस्तो कि नेपाल माइक्रो इन्स्योरेन्स । उक्त कम्पनीको शेयरधनीले एक साताको अवधिमा ४६ दशमलव ३७ प्रतिशत नाफा कमाएका छन् ।
त्यस्तै यो साता क्रेप्ट माइक्रो लाइफ इन्स्योरेन्सका शेयरधनीले ४६ दशमलव ३२ प्रतिशत , कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले ३० दशमलव ६३ प्रतिशत नाफा कमाएका छन् ।
अघिल्ला साताभन्दा यो साता बजार सम्हालिएर अघि बढेको देखिन्छ । लगानीकर्ताहरु बजारलाई प्रभाव पार्ने महत्वपूर्ण आर्थिक पक्ष मजबुत रहेकाले आगामी साता बढ्ने सम्भावना बलियो रहेको बताउँछन् । अझ भन्ने हो भने आगामी साता भित्रमा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति हुने सम्भावना छ ।यसले पनि बजारलाई सकारात्मक प्रभाव पार्ने देखिन्छ ।किन भने राष्ट्र बैंकले लिने नीतिगत व्यवस्थाले सधैं धितोपत्र बजार प्रभावित हुँदै आएको छ ।