नाडा र बीमा प्राधिकरण अध्यक्षबीच भेट, विद्युतीय सवारी साधनको बीमाबारे छलफल
Last updated at 06:36 pm
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल,नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठसहितको टोलीले नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझासँग भेटवार्ता गरेको छ । भेटवार्तामा विद्युतीय सवारी साधनको बीमा नीतिका सम्बन्धमा छलफल भएको छ ।
सो अवसरमा नाडाका उपाध्यक्ष श्रेष्ठले विद्युतिय सवारी साधनहरुको सन्दर्भमा हालसम्म बीमा नीति तयार नभईसकेकोले विद्युतीय सवारी साधनको बीमा सम्बन्धमा स्पष्ट र पारदर्शी नीति निर्माणको आवश्यकता रहेको बताए ।
छलफलको क्रममा प्राधिकरणका अध्यक्ष ओझाले सो नीतिमा विद्युतीय सवारी साधनहरुको स्पेयर पार्टस, सवारी प्रणाली, म्याटेरियल र मूल्यसम्बन्धी विवरण समेत समावेश गरिने, क्लेम प्रक्रियामा सुधार ल्याउने, बीमालाई थप सुलभ र पारदर्शी बनाउने लक्ष्य लिएको बताएका थिए । त्यसैगरी, उनले प्राधिकरणले नाडालाई समेत उक्त बीमा नीति निर्माण कार्यमा प्रत्यक्ष संलग्न गराउने योजना रहेको बताए ।
विद्युतीय सवारी साधनहरुका सम्बन्धमा नीति निर्माण गर्न अन्तरराष्ट्रिय अभ्यासलाई आधार बनाएर अध्ययन गर्नु पर्ने आवश्यकता देखिएकोले न्यूनतम रुपमा दक्षिण एशियाली राष्ट्रहरुमा प्रयोगमा रहेका नीति र अभ्यासहरुको अध्ययन गरी तत्सम्बन्धमा नाडाको प्रतिनिधिमण्डलले प्राधिकरणलाई आवश्यक जानकारी प्रदान गर्ने जानकारी गराएको थियो ।