ट्रेड टावरको आईपीओ वैशाख ८ गतेदेखि निष्कासनमा
Last updated at 01:14 pm
ट्रेड टावर लिमिटेडले आगामी वैशाख ८ गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ ।कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्नेछ ।
कम्पनीले जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८ दशमलव ६९६ प्रतिशतका दरले हुन आउने ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३९ लाख ७१ हजार ६९३ कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्म आवेदन दिन पाइनेछ ।
आईपीओ निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल छ।
कम्पनीले लामो समयदेखि हाउजिङसम्बन्धी प्रोजेक्ट सञ्चालन गर्दै आएको छ । शुरुवाती समयमा कञ्जनजंघा हाउजिङ लिमिटेडका नाममा स्थापना भएकोमा हाल ट्रेड टावरका नाममा उक्त कम्पनी सञ्चालनमा छ।
काठमाडौंको थापाथलीमा व्यावसायिक भवन ‘ट्रेड टावर’ यसले सञ्चालन गर्दै आएको छ ।धितोपत्र निष्कासन तथा बाँडफाँटपछि यो कम्पनी अन्य समूहमा सूचीकृत हुनेछ ।