साताको शेयर समीक्षा : लगानीकर्ता अझै अन्योलमा
Last updated at 07:36 am
यो साता धितोपत्र बजार १.२२ प्रतिशतले घटेको छ। अघिल्लो साता २ हजार ७०३ अंकमा रहेको शेयर बजार गत साता घटेर २ हजार ६७० अंकमा आइपुगेको छ।
गत साता ३२ दशमलव ६९ अंकले बजार घटेको छ भने अघिल्लो साता बजार ४० दशमलव शून्य १ अंकले बढेको थियो ।यो साता धितोपत्र बजारमा चार दिन कारोबार भएको छ ।यो साता तीन दिन बजार घटेको छ भने एक दिन मात्र बढेको छ ।
आइतबार सार्वजनिक विदा भएकाले साताको पहिलो कारोबार दिन सोमबार ५ अर्ब ६५ करोडको कारोबार भएको थियो । मंगलबार ५ अर्ब ३० करोड भएकोमा बुधबार ४ अर्ब ४४ करोड भएको थियो । यसैगरी, बिहीबार ५ अर्ब ६३ करोड रुपैयाँ बराबरको भएको थियो । बजार घट्दा कारोबार रकम पनि घटेको देखिन्छ ।
गत साताभरमा २१ अर्ब ९ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । अघिल्लो साता भने २६ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
समग्रमा गत साता दोस्रो बजारमा नेप्से परिसूचक र दैनिक औषत कारोबार दुबै घटेको देखिन्छ । गत साता बजार पूँजीकरण ४४ खर्ब ३९ अर्ब रुपैयाँ बराबर कायम भएको छ ।अघिल्लो साता भने बजार पूँजीकरण ४४ खर्ब ८९ अर्ब रुपैयाँ बराबर थियो । गत साता बजार घटेका कारण ५० अर्बले लगानीकर्ताहरुको सम्पत्ति घटेको देखिन्छ ।
गत साता वित्त समूह सबैभन्दा धेरै घटेको छ।उक्त समूह १.८१ प्रतिशतले घटेको छ। यसैगरी,दोस्रोमा जलविद्युत समूह छ । उक्त समूह पनि १. दशमलव ६८ प्रतिशतले घटेको छ ।
यो साता विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य २४ दशमलव ५९ प्रतिशतले वृद्धि भएको छ।यसैगरी,ङादी ग्रूप पावरको शेयरमूल्य ८दशमलव ८९ प्रतिशतले वृद्धि भएको छ। त्यस्तै सिन्धु विकास बैंकको शेयरमूल्य ८ दशमलव ६१ प्रतिशतले वृद्धि भएको छ।
हुन त लगातार बजार घटेका कारण लगानीकर्ताको मनोवल खस्केको देखिन्छ । जसका कारण गत साता कारोबारमा पनि खासै सुधार आउन सकेको देखिएन । बजार घट्दा कारोबार पनि घटेको देखिन्छ ।गत साता विश्व बजारमा देखिएको अस्थिरताको प्रभाव नेपालमा पनि परेको जस्तो देखिन्छ । अझ भन्ने हो भने गत साता मुख्यतः तेस्रो त्रैमासको ब्याज तथा कर भुक्तानी र विभिन्न पक्षबाट भएका आन्दोलनले पनि प्रभाव पारेको थियो ।
लगतार बजार घटेका कारण लगानीकर्ताको मनोवल खस्किएको र अन्योल पनि कायम रहेको अवस्थामा आगामी साताबाट बजारमा सुधार आउन सक्ने देखिन्छ । बजार घट्नु पर्ने कुनै कारण केहि नभएकाले बजारले अगामी साताबाट सुधारको गति लिने अपेक्षा गरेको कतिपय लगानीकर्ता बताउँछन्।