नेपालमा सबैभन्दा ठूलो सौर्य ऊर्जाको परियोजना शुरु
Last updated at 04:54 pm
घाम पावरले संयुक्त राष्ट्र औद्योगिक विकास संगठन (यूएनआइडीओ) को सहकार्यमा नेपालमा सबैभन्दा ठूलो ऊर्जा भण्डारण प्रणाली स्थापना गर्न आधिकारिक रूपमा परियोजना शुरु गरेको छ। जसको कुल ब्याट्री क्षमता ४ मेगावाट आवर छ।
योसँगै उद्योग र व्यवसायहरूलाई पेट्रोलियम पदार्थको खपत कम गर्न र स्मार्ट ग्रिडको विकासमार्फत कार्बनको कम गर्न मद्दत गर्ने छ। यो पहल यूएनआइडीओका महानिर्देशक गर्ड मुलरद्वारा पाँच विभिन्न देशका राजदूतहरूको उपस्थितिमा शुरु गरिएको थियो। जहाँ अन्य अग्रगामी परियोजना सञ्चालन गरिने छ।
समारोहमा नेपालको तर्फबाट नेपाली राजदूत भरत कुमार रेग्मी, घाम पावरका प्रमुख कार्यकारी अधिकृत(सीईओ) अञ्जल निरौला र स्वानबार्टन र प्राक्टिकल एक्सनका टोलीहरू उपस्थित थिए।
उक्त परियोजनाले सौर्य ऊर्जाद्वारा सञ्चालित ठूलो मात्रामा ब्याट्री भण्डारण प्रणालीले प्रदूषणकारी डिजेल जेनेरेटरलाई प्रतिस्थापन गरेर औद्योगिक ऊर्जा प्रयोगलाई रूपान्तरण गर्ने तयारी गरेको छ। महंगो र हानिकारक इन्धन स्रोतहरूबाट टाढा राख्दै परियोजनाले आगामी २५ वर्षमा कार्बन उत्सर्जनमा २ हजार ८०० टनले कमी ल्याउने छ।
एआई सञ्चालित ऊर्जा अनुकूलनको साथ प्रणालीले ऊर्जा लागत घटाउने छ भभने विश्वसनीयता पनि सुधार गर्ने छ। उद्योगमा दिगो ऊर्जा प्रयोगलाई समर्थन गर्ने छ।
यो परियोजना सौर्य र भण्डारण नवप्रवर्तनको विकासमा एक महत्त्वपूर्ण कोसेढुङ्गा हो। अत्याधुनिक प्रविधि र वर्षौंको समर्पणलाई संयोजन गरेर घाम पावरले नेपाललाई सफा, स्मार्ट र थप लचिलो ऊर्जा भविष्यका लागि काम गरिरहेको छ।